स्वदेशमै केही हुन्छ भन्ने आशा जगाऔं, युवालाई गाउँमै बसौं-बसौं बनाऔं : राष्ट्रपति पौडेल
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो परिवेश र युवाहरूको नयाँ अपेक्षालाई सम्बोधन गर्ने गरी शैक्षिक तथा श्रम नीतिमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले युवा वर्गलाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्नु सरकारको मुख्य प्राथमिकता हुनुपर्नेमा जोड दिए।
पौडेलले आजको युवा जनशक्ति नयाँ कुरा सिक्न इच्छुक रहेको र उनीहरूको चाहना विगतको भन्दा भिन्न रहेको उल्लेख गरे। परम्परागत श्रम क्षेत्रले मात्र अबको जनशक्तिको आवश्यकता पुरा गर्न नसक्ने उनको भनाइ छ।
राष्ट्रपति पौडेलले भने, "आजका युवाहरूको चाहना विगतका भन्दा धेरै फरक छ। उनीहरू नयाँ कुरा सिक्न चाहन्छन्। परम्परागत श्रमका क्षेत्रले मात्र श्रम बजारमा आउने जनशक्तिको अपेक्षा पुरा गर्न सक्दैन।"
उनले रोजगारीका नयाँ अवसरहरूको खोजी र बजारको माग अनुरूपको जनशक्ति उत्पादनका लागि शैक्षिक प्रणालीमा सुधारको आवश्यकता औँल्याए। उनले भने, "रोजगारीका नयाँ अवसरको खोजी गर्ने र बजारको माग अनुरूपको जनशक्ति उत्पादन गर्न सक्षम हुने गरी शैक्षिक प्रणालीमा सुधार गर्दै विदेश पलायन भएको युवा वर्गलाई आफ्नै देश र आफ्नै गाउँमा बसौं बसौं बनाउनु पर्ने आजको मुख्य आवश्यकतामा सरकारले ध्यान दिने छ।"
श्रमको उचित कदर र प्रतिफलको सुनिश्चितता नभएसम्म समाजमा व्याप्त निराशा अन्त्य नहुने तर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए। "श्रमको सम्मान गर्ने संस्कृतिको विकाश गर्न र श्रमको उचित प्रतिफल उपलब्ध गराएर देशमा काम गरेर केही हुँदैन भन्ने धारणामा परिवर्तन ल्याउन सरकारले ढिला गर्ने छैन भन्ने मेरो विश्वास छ," राष्ट्रपति पौडेलले भने।
सरकारले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्दै युवाहरूमा आशाको सञ्चार गराउने विश्वास समेत उनले व्यक्त गरे।
चैत २७, २०८२ शुक्रबार १५:४४:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।