गोरखामा लक्जरी रिसोर्ट खोल्दै सीजी
काठमाडौं : चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटीले गोरखालाई लक्जरी पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले ‘समिट होटल’को शिलान्यास गरेको छ। ऐतिहासिक गोरखा दरबार नजिकै निर्माण हुने रिसोर्ट आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
करिब ३० रोपनी क्षेत्रफलमा फैलिने होटलमा ३० वटा लक्जरी कोठाहरू रहनेछन्। यसको औसत कोठा दर प्रतिरात करिब ५०० अमेरिकी डलर आसपास रहने सीजी हस्पिटालिटीले जनाएको छ। काठमाडौंको ऐतिहासिक समिट होटलको विरासत र नेपाली मौलिकतालाई यस परियोजनामा समेटिनेछ।
सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले पर्यटनमार्फत अर्थतन्त्र सुदृढ बनाउने सरकारी लक्ष्यमा सहयोग पुर्याउन यो परियोजना अघि सारिएको बताए। सीजी हस्पिटालिटीले हाल विश्वका १२ देशका १३० गन्तव्यमा २३० भन्दा बढी होटल र रिसोर्टहरू सञ्चालन गरिरहेको छ।
देशको कुल वार्षिक राजस्वमा करिब २ प्रतिशत योगदान दिँदै आएको चौधरी ग्रुपले आर्थिक वर्ष २०८१/८२ मा मात्रै २५ अर्ब ५९ करोड रुपैयाँ राजस्व बुझाएको थियो। पछिल्लो पाँच वर्षमा ग्रुपको कुल राजस्व योगदान ९२ अर्ब २६ करोड रुपैयाँ पुगेको विज्ञप्तिमा उल्लेख छ।
चैत २७, २०८२ शुक्रबार १५:१६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।