अमिषाको चरित्रहत्या गर्ने अभिषेक रास्वपा समर्थक, भने- ‘रक्सीको नशामा थिएँ, रिसले चुर भएर अश्लील शब्दहरू लेखेँ’

अमिषाको चरित्रहत्या गर्ने अभिषेक रास्वपा समर्थक, भने- ‘रक्सीको नशामा थिएँ, रिसले चुर भएर अश्लील शब्दहरू लेखेँ’

​​​​​​​काठमाडौं : पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओ‌ली पक्राउको विरोधमा भएको आन्दोलनका क्रममा अन्तर्वार्ता दिएकी युवती अमिषा पराजुलीको सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा रौतहटका एक युवकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

रौतहटको गुजरा नगरपालिका-९ का २४ वर्षीय अभिषेक चौधरीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गत मुद्दा दायर गरिएको हो।

चैत १४ गते विहान एमाले अध्यक्ष ओलीलाई पक्राउको विरोधमा भएको आन्दोलनका क्रममा अमिषा पराजुलीले विभिन्न सञ्चार माध्यमलाई अन्तर्वार्ता दिएकी थिइन्।

उक्त अन्तर्वार्ताको भिडियो एईबी रिजल्ट नामक फेसबुक पेजमा अपलोड भएपछि अभिषेक चौधरीले अमिषाको अपमान हुने गरी अत्यन्तै अश्लील र आपत्तिजनक शब्दहरू प्रयोग गरेर कमेन्ट गरेका थिए।

पराजुलीले आफ्नो र परिवारको समेत चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा गालीगलौज र अपमान गरिएको भन्दै साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्। जाहेरीमा उनले आफूलाई मानसिक यातना दिएको भन्दै क्षतिपूर्तिको समेत माग गरेकी थिइन्।

प्रहरीको नियन्त्रणमा रहेका अभिषेक चौधरीले आफूले उक्त अश्लील कमेन्ट लेखेको स्वीकार गरेका छन्। उनले आफ्नो बयानमा आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थक र जेनजी आन्दोलन पक्षधर रहेको बताएका छन्।

चौधरीले बयानका क्रममा भनेका छन्, ‘जेनजी साथीहरूले परिवर्तनका लागि बलिदान दिएको देशमा फेरि पुराना राजनीतिक दल र तिनका नेता (केपी शर्मा ओली) को समर्थनमा अन्तर्वार्ता दिएको देखेपछि मलाई रिस उठ्यो। सोही साँझ मादक पदार्थ सेवन गरेको अवस्थामा नशाको सुरमा मैले अमिषा पराजुलीको भिडियोमा ती अश्लील शब्दहरू लेखेको हुँ।’

उनले सार्वजनिक रूपमा बेइज्जत गर्ने आफ्नो उद्देश्य रहेको र यो आफ्नो गल्ती भएको समेत स्वीकारेका छन्।

जिल्ला सरकारी वकिल कार्यालयले चौधरीलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिमको कसुरमा सजाय माग गर्दै अभियोग पत्र दर्ता गरेको छ। उक्त दफा अनुसार दोषी ठहरिएमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ। 

साथै, सरकारी वकिलले सोही ऐनको दफा ५६ बमोजिम कसुरमा प्रयोग भएको मोबाइल सेट जफत गर्न र दफा ५८ (क) बमोजिम पीडित अमिषा पराजुलीलाई पुग्न गएको मानसिक र सामाजिक क्षतिको विचार गरी मनासिब क्षतिपूर्ति भराइदिन समेत अदालतसँग माग गरेको छ।

चैत २७, २०८२ शुक्रबार १२:२९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।