फेसबुकबाटै ३ करोडको सट्टेबाजी, २२ लाख कमाएको स्वीकार गरेका विद्यार्थी प्रहरी फन्दामा
काठमाडौं : काठमाडौंमा बसेर अन्तर्राष्ट्रिय स्तरमा अनलाइन जुवा (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी मुद्दा दायर गरेको छ।
प्रहरीले २६ वर्षीय मोहन लुईटेललाई काठमाडौंको कागेश्वरी मनोहराबाट पक्राउ गरी तीन करोड रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
अभियोग पत्रअनुसार, मोरङको उर्लाबारी स्थायी घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका-८, शिवचोकमा डेरा गरी बस्ने लुईटेलले सामाजिक सञ्जाल र अनलाइन भुक्तानी प्लेटफर्मको दुरुपयोग गरी जुवा खेलाएको पाइएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयमा परेको उजुरीको आधारमा अनुसन्धान गर्दा प्रहरीले लुईटेललाई गत चैत ३ गते उनको डेराबाटै पक्राउ गरेको थियो।
प्रहरीले लुईटेलको कोठामा छापा मार्दा अनलाइन जुवा खेलाउन प्रयोग गरिएका ३ थान कम्प्युटर मनिटर, एक थान सीपीयू, एक थान आईप्याड, एक थान आईफोन, ३६ हजार रुपैयाँ नगद र बागमती प्रदेश ०२-०६०प ०६५६ नम्बरको हिरो एक्सपल्स मोटरसाइकल बरामद गरेको छ।
अनुसन्धानका क्रममा लुईटेलको मोबाइल जाँच गर्दा गेम रुम, गेम भल्ट, जुवा, लस भेगस जस्ता बेटिङ साइटमार्फत अनलाइन जुवा खेलाएको प्रमाण भेटिएको थियो। ती साइटहरूबाट उनले २ लाख १० हजार ७८ अमेरिकी डलर बराबरको कारोबार गरेको खुलेको छ, जुन नेपाली ३ करोड ९ लाख ५२ हजार ४७ रुपैयाँ हुन आउँछ।
कसरी खेलाउँथे जुवा?
अभियोग पत्रमा संलग्न बयानमा कम्प्युटर विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थी रहेको बताएका लुईटेलले पैसाको प्रलोभनमा परी यो काममा लागेको स्वीकारेका छन्। उनले प्रणव पोखरेल नामका व्यक्तिले यो अमेरिकी काम भएको र नेपालमा कानुनी समस्या नहुने भन्दै विश्वास दिलाएपछि आफू यो काममा लागेको बताएका छन्।
उनले मोहन लुइँटेल नामको फेसबुक आईडी र ‘चिप्स सिप्स एन्ड पप्स’ नामक पेजमार्फत विदेशी नागरिकहरूलाई लक्षित गरी अनलाइन जुवा खेलाउने गरेको स्वीकारेका छन्।
आफूले अहिलेसम्म करिब ४५ लाख रुपैयाँ बराबरको कारोबार गरी २२ लाख रुपैयाँ आम्दानी गरेको र सोही रकमबाट मोटरसाइकल, कम्प्युटर, मोबाइल र अन्य घरायसी खर्च चलाएको बयान दिएका छन्।
जिल्ला सरकारी वकिल कार्यालयले लुईटेलविरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा मुद्दा दायर गरेको छ। अभियोग पत्रमा लुईटेललाई एक वर्षसम्म कैद, दश हजार रुपैयाँसम्म जरिवानाका साथै जुवामा प्रयोग भएको तीन करोड ९ लाख ५२ हजार ४७ रुपैयाँ विगो जफत गर्न माग गरिएको छ।
यसका साथै, जुवा खेलाउन प्रयोग भएका कम्प्युटर, मोबाइल, नगद र मोटरसाइकल लगायतका सबै सामग्रीहरू कसुरजन्य सम्पत्ति भएकोले जफत गर्न पनि माग गरिएको छ। घटनामा संलग्न प्रणव पोखरेल नामका व्यक्तिको खोजी भइरहेको र उनी पक्राउ परेपछि पूरक अभियोगपत्र दायर गरिने प्रहरीले जनाएको छ।
चैत २७, २०८२ शुक्रबार १२:१२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।