अमेरिका-इरान शान्ति वार्ताअघि पाकिस्तानका विदेशमन्त्रीको पोस्टका कारण इजरायलसँग चर्को विवाद

अमेरिका-इरान शान्ति वार्ताअघि पाकिस्तानका विदेशमन्त्रीको पोस्टका कारण इजरायलसँग चर्को विवाद

एजेन्सी : अमेरिका र इरानबीच हुन लागेको महत्त्वपूर्ण शान्ति वार्ताको पूर्वसन्ध्यामा इजरायल र पाकिस्तानबीच गम्भीर कूटनीतिक विवाद उत्पन्न भएको छ।

यो विवाद पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले सामाजिक सञ्जालमा इजरायलविरुद्ध गरेको एक टिप्पणीबाट सुरु भएको हो।

आसिफले इजरायलमाथि लेबनानमा नरसंहार गरेको आरोप लगाउँदै लेखेका थिए, ‘इजरायल दुष्टताको प्रतीक र मानवताका लागि अभिशाप हो। इस्लामाबादमा शान्ति वार्ता चलिरहेको छ, तर लेबनानमा नरसंहार भइरहेको छ। इजरायलले निर्दोष मानिसहरूलाई मारिरहेको छ, पहिले गाजामा, त्यसपछि इरानमा र अहिले लेबनानमा। मेरो प्रार्थना छ कि यो देश बनाउनेहरू नर्कमा जलुन्।’

यो टिप्पणीप्रति इजरायलले कडा आपत्ति जनाएको छ। इजरायलको प्रधानमन्त्री कार्यालयले आसिफको बयानलाई ‘आपत्तिजनक’ र ‘इजरायललाई समाप्त गर्ने आह्वान’ जस्तै भएको बताएको छ।

‘शान्ति वार्ताको मध्यस्थता गरिरहेको देशबाट यस्तो बयान आउनु स्वीकार्य छैन’, इजरायलको प्रतिक्रिया थियो। इजरायलको कडा प्रतिक्रियापछि रक्षामन्त्री आसिफले आफ्नो पोस्ट हटाएका छन्।

यो सम्पूर्ण विवाद यस्तो समयमा भएको हो जब अमेरिका र इरानबीच शनिबार युद्धविरामबारे महत्त्वपूर्ण वार्ता हुँदैछ। रोयटर्सका अनुसार यो वार्ता पाकिस्तानको राजधानी इस्लामाबादमा हुनेछ।

वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल शुक्रबार इस्लामाबाद पुग्नेछ भने इरानी टोली पहिल्यै पुगिसकेको छ। वार्ता शनिबार इस्लामाबादको सेरेना होटलमा हुनेछ।

अमेरिकी पक्षको नेतृत्व उपराष्ट्रपति जेडी भेन्सले र इरानको तर्फबाट त्यहाँको संसदका अध्यक्ष मोहम्मद बाघेर गालिबाफले गर्नेछन्।

चैत २७, २०८२ शुक्रबार १२:०१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।