आफ्नो पक्राउ प्रतिशोधपूर्ण भएको रमेश लेखकको दाबी, राजनीतिक र कानुनी लडाइँ जारी राख्ने

आफ्नो पक्राउ प्रतिशोधपूर्ण भएको रमेश लेखकको दाबी, राजनीतिक र कानुनी लडाइँ जारी राख्ने

काठमाडौं :  गत भदौ २३ गते बानेश्वरमा भएको जेनजी आन्दोलनमा युवाहरूमाथि गोली चलाएको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखक १३ दिनको हिरासत बसाइपछि रिहा भए।

बिहीबार रिहा भएका उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो पक्राउलाई ‘प्रतिशोधपूर्ण’ भन्दै कानुनी र राजनीतिक लडाइँ जारी राख्ने उद्घोष गरेका छन्।

शुक्रबार बिहान आफ्नो धारणा सार्वजनिक गर्दै नेता लेखकले भदौ २३ र २४ गतेको घटनाको सन्दर्भमा गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई ‘पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित’को संज्ञा दिएका छन्।

उनले लेखेका छन्, ‘आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु। म कानुन पालना गर्ने र न्यायमा विश्वास गर्दछु। बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहनेछ।’

लेखकले आफ्नो रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, अधिकारकर्मी, सञ्चारकर्मी र राजनीतिक दलहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। साथै, उनले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै रिहाइको बाटो खोल्ने सर्वोच्च अदालतप्रति पनि उच्च सम्मान व्यक्त गरेका छन्।

वालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारले कार्की आयोग प्रतिवेदन कार्यान्वयनमा लगेसँगै चैत १४ गते विहान पूर्वगृहमन्त्री लेखकलाई ज्यानमुद्दाको कसुरमा अनुसन्धान गर्न भन्दै पक्राउ गरेको थियो।

भदौ २३ गते काठमाडौंको बानेश्वरमा भएको जेनजी आन्दोलनका क्रममा १९ जना युवामाथि सडकमै गोली हान्न आदेश दिएको र गोली चलिरहँदा पनि त्यसलाई रोक्न पहल नगरी चरम हेलचेक्र्याइँ गरेको गम्भीर आरोप उनीमाथि छ। उक्त गोलीकाण्ड हुँदा लेखक देशको गृहमन्त्री थिए।

लेखकलाई पक्राउ गरी हिरासतमा राखेपछि उनकी श्रीमतीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि गत सोमबार सुनुवाइ गर्दै सर्वोच्चले अनुसन्धानका लागि प्रहरीलाई अब थप म्याद नथप्नआदेश दिएको थियो। सर्वोच्चको सोही आदेशको आधारमा म्याद सकिएसँगै उनी बिहीबार रिहा भएका हुन्।

भदौ २३ को घटनालाई लिएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि राजनीतिक वृत्त तरङ्गित छ। एमालेले ओली र लेखकको पक्राउलाई बालेन सरकारको ‘प्रतिशोधपूर्ण कदम’ भन्दै कडा विरोध जनाउँदै आएको छ।

तर, आफ्नै पार्टीका प्रभावशाली नेता पक्राउ पर्दा पनि नेपाली कांग्रेस भने संस्थागत रूपमा मौन देखियो। यद्यपि, कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिने लेखकको पक्राउलाई लिएर देउवा पक्षीय केही कार्यकर्ताहरूले भने असन्तुष्टि जनाउँदै विरोध गरेका थिए।

चैत २७, २०८२ शुक्रबार ११:४३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।