कांग्रेस आधिकारिकता विवाद : गगनविरुद्ध देउवाको रिट न्यायाधीशद्वय सपना र मेघराजको इजलासमा
काठमाडौं : नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ।
उक्त मुद्दाको पेसी कायममुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा तोकिएको छ।
निर्वाचन आयोगले पार्टीको ‘दोस्रो विशेष महाधिवेशन’बाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको हो।
देउवा समूहले उक्त विशेष महाधिवेशन पार्टी विधानसम्मत नभएको दाबी गर्दै कांग्रेसको आधिकारिकता आफूहरूले नै पाउनुपर्ने मागसहित रिट दायर गरेको थियो।
निवर्तमान सभापति देउवा दुई जना निवेदक रहेको उक्त मुद्दामा निर्वाचन आयोगसहित गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको छ।
यसअघि गत चैत १ गते न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा यस मुद्दाको पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो।
त्यसअघि माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले यस विवादमा प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरिसकेको छ।
चैत २७, २०८२ शुक्रबार ११:२८:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।