नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिने एडिबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिने एडिबीको प्रक्षेपण

काठमाडौं : एसियाली विकास बैंक (एडिबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर सुस्त रहने प्रक्षेपण गरेको छ।

एडिबीले हालै सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक’ प्रतिवेदनअनुसार यो वर्ष नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत मात्र रहनेछ। गत वर्ष (सन् २०२५) यस्तो वृद्धिदर ४.६ प्रतिशत थियो।

नेपालमा देखिएको राजनीतिक अस्थिरता र मध्यपूर्वमा चलिरहेको द्वन्द्वका कारण यो वर्ष अर्थतन्त्र सुस्त हुने एडिबीले जनाएको छ।

नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोशवाले राजनीतिक स्थिरता आएमा मात्र अर्थतन्त्रमा आत्मविश्वास बढ्ने बताएका छन्।

उनले भनेका छन्, ‘यद्यपि, मध्यपूर्वको द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्य बढाउने तथा नेपालको पर्यटन र रेमिट्यान्स (विप्रेषण) मा नकारात्मक असर पार्ने जोखिम अझै कायमै छ।’

यो वर्ष अर्थतन्त्र खुम्चिए पनि आगामी वर्ष भने सुधार हुने एडिबीको प्रक्षेपण छ।

आन्तरिक बजारको माग बढ्ने, जलविद्युत् निर्यातमा वृद्धि हुने र पर्यटन क्षेत्र मजबुत हुने हुँदा सन् २०२७ मा आर्थिक वृद्धिदर बढेर ५ प्रतिशत पुग्ने अनुमान गरिएको छ। 

त्यसैगरी, सन् २०२६ मा महँगी (मुद्रास्फीति दर) ३.७ प्रतिशत रहने र आर्थिक गतिविधिमा सुधार आएसँगै सन् २०२७ मा यो बढेर ४.५ प्रतिशत पुग्ने प्रतिवेदनमा उल्लेख छ।

देशको चालु खाता बचत सन् २०२६ मा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ७.२ प्रतिशत रहनेछ।

तर, वैदेशिक रोजगारीमा जाने क्रममा आउन सक्ने रोकावट, इन्धनको मूल्यवृद्धि र पर्यटनमा हुनसक्ने नोक्सानीका कारण सन् २०२७ मा भने चालु खाता बचत घटेर ५.३ प्रतिशतमा झर्ने अनुमान गरिएको छ।

एडिबीले अर्थतन्त्र सुधारको अनुमान गरे तापनि केही गम्भीर जोखिमहरूतर्फ सचेत गराएको छ।

विशेषगरी मध्यपूर्वको द्वन्द्व लम्बिएमा पेट्रोलियम पदार्थको मूल्यमा भारी उतारचढाव आउने र खाडी मुलुकबाट आउने रेमिट्यान्स घट्ने खतरा औँल्याइएको छ। 

यसका साथै, सरकारले पुँजीगत (विकास) बजेट खर्च गर्न नसक्नु, वित्तीय क्षेत्रमा रहेका जोखिमहरू र जलवायु परिवर्तनका असरहरूले पनि नेपालको आर्थिक वृद्धिलाई चुनौती दिनसक्ने एडिबीले स्पष्ट पारेको छ।

चैत २७, २०८२ शुक्रबार ११:०७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।