दुई दिने बिदामा पनि आइतबार अस्पतालका ओपीडी सेवा सुचारु गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं : सरकारले शनिबार र आइतबार गरी सातामा लगातार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे तापनि अस्पतालहरूले भने आइतबार पनि बहिरंग (ओपीडी) सेवा सुचारु गर्नुपर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन भन्दै अस्पतालहरुलाई यस्तो निर्देशन दिएको हो।
मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार अस्पतालहरूले आफ्नो वर्कलोड र जनशक्ति हेरेर आइतबारको दिन पनि ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेछ।
आइतबार सेवा प्रवाह गर्दा कर्मचारीहरूलाई पर्ने मर्कालाई सम्बोधन गर्न मन्त्रालयले वैकल्पिक व्यवस्था पनि अघि सारेको छ। आइतबार काम गर्ने कर्मचारीहरूलाई शनिबारबाहेक साताको अर्को कुनै एक दिन बिदा दिई दुई दिनको बिदा सुनिश्चित गर्न मन्त्रालयले भनेको छ।
यदि अर्को दिन बिदा दिन नसकिने अवस्था आएमा त्यस्ता कर्मचारीलाई सट्टा बिदा उपलब्ध गराउनुपर्ने विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी, संघीय अस्पतालहरूमा मात्र नभई प्रादेशिक अस्पतालहरुमा समेत यही अनुरूपको व्यवस्था मिलाउन मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य विषय हेर्ने मन्त्रालयहरूलाई अनुरोध गरेको छ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै लगातार दुई दिन अस्पताल बन्द हुँदा बिरामीहरू मर्कामा पर्ने गुनासो बढेपछि मन्त्रालयले सेवा सुचारु राख्न यो परिपत्र जारी गरेको हो।
चैत २७, २०८२ शुक्रबार १०:०६:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।