चितवनको माडीमा बसको ठक्करबाट १८ वर्षीया किशोरीको मृत्यु
चितवन : चितवनको माडी नगरपालिका-८ खरकट्टामा बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ।
सोमबार साँझ नारायणगढबाट ठोरीतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा स्थानीय १८ वर्षीया प्रिती परियारको ज्यान गएको हो।
प्रहरीका अनुसार, साँझ अन्दाजी ५:०५ बजेको समयमा माडी-ठोरी हुलाकी राजमार्गमा बाटो काट्दै गरेकी परियारलाई बागमती प्रदेश ०६-००१ ख ०२०४ नम्बरको बसले ठक्कर दिएको थियो।
प्रहरी विवरणमा उल्लेख भएअनुसार मृतक परियारको मानसिक सन्तुलन ठीक थिएन।
बसको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उद्धार गरी उपचारका लागि माडीस्थित बघौडा अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा साँझ ६:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाको खबर प्राप्त हुनासाथ सोमेश्वर प्रहरी चौकी, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलसहितको संयुक्त टोली उद्धारका लागि घटनास्थल पुगेको थियो।
ठक्कर दिने बस र त्यसका चालक माडी नगरपालिका-६ कल्याणपुरका ४५ वर्षीय गुप्तबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
हाल उनीहरूलाई सोमेश्वर प्रहरी चौकीको नियन्त्रणमा राखी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चैत २७, २०८२ शुक्रबार ०९:५२:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।