एसईई दिएका विद्यार्थीलाई नेपाल टेलिकमकोअफर : २० रुपैयाँमै सिम, दिनहुँ डाटा र कल

एसईई दिएका विद्यार्थीलाई नेपाल टेलिकमकोअफर : २० रुपैयाँमै सिम, दिनहुँ डाटा र कल

काठमाडौं : नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीहरूका लागि लक्षित गर्दै ‘एसईई अफर २०८२’ सञ्चालनमा ल्याएको छ। अफर आगामी २०८३ असार २६ गतेसम्म लागू हुने टेलिकमले जनाएको छ।

यस अफरअन्तर्गत विद्यार्थीले २० रुपैयाँमै टेलिकमको नयाँ सिमकार्ड प्राप्त गर्न सक्नेछन्। नयाँ सिममा ९.८० रुपैयाँ मेन ब्यालेन्स हुनेछ भने ३० दिनसम्म हरेक दिन ५०० एमबी डाटा, टेलिकमको नेटवर्कभित्र २० मिनेट कल र १० वटा एसएमएस निःशुल्क प्राप्त हुनेछ।

त्यसैगरी, ५० रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गर्दा विद्यार्थीले बोनसस्वरूप थप ५०० एमबी डाटा, ५० मिनेट अन-नेट कल र ५० वटा एसएमएस प्राप्त गर्नेछन्, जसलाई ३ दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ। 

नयाँ सिम लिन नचाहने विद्यार्थीले आफूले पहिले नै प्रयोग गरिरहेको टेलिकमको पुरानै नम्बरमा पनि यो अफर सुचारु गर्न सक्नेछन्। पुरानो सिममा अफर लिन *1600# डायल गरी निर्देशनअनुसार आफ्नो एसईईको सिम्बोल नम्बर (अंग्रेजी अक्षरबाहेक) र जन्ममिति (वर्ष, महिना र दिन) राखेर पठाउनुपर्नेछ। 

नयाँ सिम लिनका लागि भने विद्यार्थीले एसईईको प्रवेशपत्र वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा राष्ट्रिय परिचयपत्रको फोटोकपी बुझाउनुपर्ने टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिए। गत वर्ष पनि सञ्चालन गरिएको यो अफरमा विद्यार्थीको आकर्षण बढेकाले यस वर्ष पनि निरन्तरता दिइएको कम्पनीले जनाएको छ।

चैत २७, २०८२ शुक्रबार ०९:४७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।