शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा ६ महिनामै १०० जनाको सफल मिर्गौला प्रत्यारोपण
भक्तपुर : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले पछिल्लो ६ महिनामा १०० जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ।
केन्द्रका अनुसार प्रत्यारोपण कार्यको नेतृत्व युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन डा. दिपेश श्रेष्ठले गरिरहेका छन्।
उनकै नेतृत्वमा यस अवधिमा ३१४ जनाको 'ल्याप नेफ्रेक्टोमी' (दूरबीनको माध्यमबाट मिर्गौला निकाल्ने शल्यक्रिया) समेत सम्पन्न भएको छ।
सीमित स्रोतसाधनका बाबजुद केन्द्रमा सातामा ४ देखि ६ जनाको मिर्गौला प्रत्यारोपण हुँदै आएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्ममा २०० जनाको मिर्गौला प्रत्यारोपण गर्ने लक्ष्य रहेको डा. दिपेश श्रेष्ठले जानकारी दिए।
स्थापनाको १३ वर्षमा केन्द्रले हालसम्म १ हजार ६०६ जनाको मिर्गौला र ३६ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ।
नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण, मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग प्रत्यारोपण, एकैदिन चार जनामा मिर्गौला प्रत्यारोपण, एउटै व्यक्तिमा मिर्गौला र कलेजो दुवैको प्रत्यारोपण तथा एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपणजस्ता ऐतिहासिक उपलब्धि केन्द्रले हासिल गरेको छ।
केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले नेफ्रोलोजी, युरोलोजी, एनेस्थेसियालगायत सम्पूर्ण विभागको उत्कृष्ट टिमवर्कले यो सफलता सम्भव भएको बताइन्।
देशमा हुने कुल प्रत्यारोपणमध्ये करिब दुई तिहाइ प्रत्यारोपण यही केन्द्रमा हुने गरेको जनाउँदै उनले आगामी दिनमा अंग प्रत्यारोपण, सीएपीडी र हेमोडाइलासिस सेवालाई सातै प्रदेशमा विस्तार गर्न केन्द्रले काम गरिरहेको जानकारी दिइन्।
चैत २७, २०८२ शुक्रबार ०९:०५:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।