इजरायली आक्रमणमा घाइते भएका इरानका पूर्व विदेशमन्त्री कमाल खराजीको मृत्यु

इजरायली आक्रमणमा घाइते भएका इरानका पूर्व विदेशमन्त्री कमाल खराजीको मृत्यु

एजेन्सी : इजरायली आक्रमणमा परी घाइते भएका इरानका पूर्व विदेशमन्त्री कमाल खराजीको मृत्यु भएको छ।

यसै महिनाको सुरुमा भएको एउटा आक्रमणमा परी गम्भीर घाइते भएका उनको हालै मृत्यु भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानको राजनीतिमा खराजीलाई एक सुधारवादी नेताका रूपमा चिनिन्थ्यो।

उनी देशको 'रणनीतिक वैदेशिक सम्बन्ध परिषद्'का प्रमुख हुनुका साथै दिवंगत सर्वोच्च नेता अली खामेनीका सल्लाहकार पनि थिए। उनले सन् १९९७ देखि २००५ सम्म इरानको विदेशमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

इरानको सुधारवादी समर्थक न्युज वेबसाइट 'जामरान'ले अप्रिल १ मा एउटा रिपोर्ट प्रकाशित गर्दै कमाल खराजी आक्रमणमा परी "गम्भीर घाइते भई अस्पताल भर्ना भएको" जानकारी दिएको थियो।

उक्त रिपोर्टमा जनाइएअनुसार सोही आक्रमणमा परी उनकी पत्नीको ज्यान गएको थियो। इरानको राजधानी तेहरानमा रहेको खराजीको घरलाई नै निशाना बनाएर उक्त आक्रमण गरिएको जामरान न्युजले उल्लेख गरेको थियो।

चैत २७, २०८२ शुक्रबार ०७:५७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।