कर छुट पाए पनि इन्धनको मूल्य बढ्यो, अझै १५ दिनमा १० अर्ब घाटाको दाबी

कर छुट पाए पनि इन्धनको मूल्य बढ्यो, अझै १५ दिनमा १० अर्ब घाटाको दाबी

काठमाडौं : सरकारले कर छुट लगायतको निर्णय गरे पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भइरहेकाले नयाँ मूल्य समायोजन गरिएको निगमको भनाई छ।

अब पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ बढेको छ। पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म पुगेको  छ।

हाललाई लागत मूल्य अनुसार वृद्धि नगरी पेट्रोलमा प्रति लिटर रु.१७।०० डिजेल/मट्टितेलमा प्रति लिटर रु.२५।०० तथा एल.पी. ग्यासमा प्रति सिलिन्डर रु.१०० र हवाई इन्धन आन्तरिक तर्फ रु.६।०० ले बढाएको निगमले बताएको छ।

भन्सार महसुल र पूर्वाधार विकास कर समायोजन पछि पनि पाक्षिक रु.१० अर्ब २१ करोड ९१ लाख अझै घाटा हुने र हालको अवस्थामा निगमलाई पेट्रोलमा प्रति लिटर रु.१६।६५, डिजेलमा प्रति लिटर रु.१०९।५० तथा एल.पी. ग्यासमा प्रति सिलिन्डर रु.४१६।३७ घाटा रहेको निगमको दाबी छ।

१४.२ केजी ग्यासको मूल्य २०१० रुपैयाँ पुगेको छ भने हवाई इन्धन (आन्तरिक) प्रति लिटर ६ रुपैयाँ बढेको छ।

चैत २७, २०८२ शुक्रबार ०६:३२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।