राप्रपालाई उपसभामुख दिन प्रधानमन्त्री बालेन्द्रले नमानेपछि रविको वचन खेर गयो
काठमाडौं : बालेन्द्र शाहको अनिच्छाका कारण उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समर्थन गर्न भनेर दिएको वाचाबाट रवि ब्याक हुन बाध्य भए। बिहीबार प्रतिनिधि सभाको उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले राप्रपालाई समर्थन गर्ने तर उम्मेदवार खस-आर्यभन्दा बाहिरबाट हुनुपर्ने सर्त राखेका थिए।
राप्रपाले उपसभामुखमा खुश्बु ओलीलाई अगाडि सार्ने तयारी गरेको थियो। तर रविले अन्य जातीबाट भए राम्रो भनेपछि राप्रपाले जनजातिबाट सरस्वती लामाको नाम तय गरेर उम्मेदवारी दिने निर्णय गर्यो। रास्वपाको समर्थनपछि उपसभामुखमा जित पक्का थियो। त्यही अनुसार ज्ञानेन्द्र शाही उपसभामुखमा लामाको उम्मेदवारी दर्तामा सक्रिय भए। तर त्यो बिचमा निर्णय बदलिएर श्रम संस्कृति पार्टीलाई उपसभामुखमा समर्थन गर्ने भएपछि रुवीकुमारी ठाकुरले उम्मेदवारी दर्ता गराइन्। पछि रास्वपाले आधिकारिक रूपमा आफ्नो समर्थन ठाकुरलाई नै रहेको बतायो।
उपसभामुखमा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी पनि इच्छुक थियो। कांग्रेसका नेताहरूले प्रमुख प्रतिपक्षी दल भएकाले उपसभामुख आफूले पाउनुपर्ने सार्वजनिक रूपमा बोले पनि यसका लागि रास्वपाका नेताहरूसँग औपचारिक रूपमा संवाद भने गरेन। एमाले उपसभामुखतिर लागेन। तर नेकपाले भने संवादै अगाडि बढाएको थियो।
यो बिचमा राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रास्वपा सभापति रवि लामिछानेसँग भेटेर छलफल गरेका थिए। त्यसैको नतिजामा रवि राप्रपालाई समर्थन गर्न राजी भए। निर्वाचन अगाडि सम्बन्ध बिग्रिए पनि संसदमा भएको भेटले प्रधानमन्त्री तथा रास्वपा संसदीय दलको नेता बालेन्द्र शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच निकटता सुरु भइसकेको थियो। दुवैले नम्बर साटासाट गर्नेदेखि भेटसम्म गरे।
यो बिचमा साम्पाङले सामाजिक सञ्जालमा उपसभामुखमा उम्मेदवारी दिने भन्दै नयाँले नयाँलाई साथ दिन्छ कि दिन्न हेरौँ भन्दै लेखेका थिए। अन्तमा रवि राप्रपातिर लागे पनि बालेन्द्रले हस्तक्षेप गरेर पार्टीको निर्णय बदलेर श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गराए। अन्तमा वचनै दिए पनि रवि बालेन्द्रको इच्छा अनुसार श्रम संस्कृति पार्टीलाई समर्थन गर्न राजी भए।
पार्टीस्रोत संवैधानिक परिषद्को जोड घटाउका आधारमा पार्टी सभापतिले अन्य दल भन्दा राप्रपासँगको सहकार्य सहज हुने बुझेर समर्थन गर्ने निर्णयमा पुगेको बताउँछन्। तर बालेन्द्रले पार्टीले पाएको जनमत पुराना पार्टीसँग सहकार्य नगर भनेर आएको भन्दै नयाँ दललाई समर्थन गर्नु पर्ने पक्षमा उभिएका थिए। सरकार बनेको एकै महिना नपुग्दै विवाद बढ्दा नकारात्मक सन्देश जाने भएपछि रवि आफैँ ब्याक हुन सहमति भए।
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सार्वजनिक रूपमै रविले उम्मेदवारी दिन भनेपछि नै पार्टीको तर्फबाट उम्मेदवारी दिएको बताइसकेका छन्। यसले पनि सहमति अनुसारै राप्रपा अगाडि बढेको देखिन्छ।
संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको नेता रहन्छन्। प्रधानमन्त्री र सभामुख रास्वपाबाटै छन्। राष्ट्रिय सभा अध्यक्ष नेकपाबाट नारायण दाहाल छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छ। यो अवस्थामा उपसभामुखको भूमिका निर्णायक बन्ने देखिन्छ। त्यही हेरेर नै रविले आफू अनुकूल निर्णयमा सहजता खोजेको देखिन्छ।
"हर्क र प्रधानमन्त्रीबीचको सम्बन्ध कस्तो छ भन्ने त सामाजिक सञ्जालमा देखिएकै छ। कांग्रेस,एमाले अनि नेकपासँग सहकार्य सम्भव थिएन। भोली संवैधानिक परिषद्मा हर्कले असहयोग गर्न सक्छन् भनेर राप्रपा रोजिएको हो। तर प्रधानमन्त्रीबाट अनुरोध आएपछि निर्णय बदलिएको हो" रास्वपाका एक नेताले उकेरासँग भने।
चैत २७, २०८२ शुक्रबार ००:१०:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।