चार कान्ड जसका कारण १५ दिन पनि श्रममन्त्रीमा टिकेनन् दीपक , 'नियुक्ती दिलाउने' बर्खास्तहुँदा नियुक्ती गर्ने मन्त्रीलाई सचेत मात्र

चार कान्ड जसका कारण १५ दिन पनि श्रममन्त्रीमा टिकेनन् दीपक , 'नियुक्ती दिलाउने' बर्खास्तहुँदा नियुक्ती गर्ने मन्त्रीलाई सचेत मात्र

काठमाडौं : सुशासन र भ्रष्टाचार नियन्त्रणको म्यान्डेटसहित पाएको जनमत अनुसार गठन भएको मन्त्रीपरिषद्का सदस्य दीपक साह एमबिबिएस पढ्न नाम निकालिदिने भनेर ठगी गरेको आरोपमा पक्राउ परेको प्रमाण सार्वजनिक भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासनको प्रतिबद्धता विपरीतको काम भएको महसुस गरेन।

सुशासन र पारदर्शीतामा कुनै सम्झौता नगर्ने सार्वजनिक छवि बनेका प्रधानमन्त्री बालेन्द्र शाहले पनि यसमा त्यति चासो दिएको देखिएन। तर कानुन अनुसार निष्क्रिय भइसकेको बीमा बोर्डको सदस्यमा श्रीमतीलाई सक्रिय गराउने प्रयास अनि वैदेशिक रोजगारी व्यवसायमा संलग्न केही ब्यक्तीहरुसँगको अपारदर्शी सम्बन्धले अन्तमा प्रधानमन्त्री शाह श्रममन्त्री साहलाई बर्खास्त गर्न बाध्य भए।

बिमा बोर्डको सदस्यको रूपमा कार्यसमितिको बैठकमा उपस्थित गराउने मुख्य जिम्मेवारी स्वास्थ्यमन्त्री निशा मेहताको हो। पार्टीको अनुशासन समितिले गरेको सिफारिस अनुसार पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री शाहलाई लेखेको पत्रमा श्रममन्त्री साहमाथिको मुख्य आरोप नै श्रीमतीको बीमा बोर्डमा सक्रियता देखिन्छ। यसमा मुख्य जिम्मेवार रहेकी स्वास्थ्यमन्त्रीको हकमा भने गम्भीरता नदेखिएको भन्दै सचेत गराउन मात्र लेखिएको छ।

महोत्तरी–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार बनेर निर्वाचित भएका साह प्रारम्भमा स्वास्थ्यमन्त्री बन्ने प्रयासमा थिए। चैत १३ मा मन्त्रीपरिषद् गठन हुँदा अनुभव नभए पनि उनी श्रममन्त्री बने। त्यही दिनमै उकेराले उनी १० वर्ष अगाडि ठगीको आरोपमा पक्राउ परेको प्रमाणसहितको समाचार सार्वजनिक गरेको थियो। यसबारे सार्वजनिक रूपमा प्रश्न उठे पनि मन्त्री साह पन्छिइरहेका थिए। प्रधानमन्त्रीको सचिवालय मौन बस्यो।

एकाएक साहकी श्रीमती जुनू श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको सदस्यको रूपमा बोर्ड बैठकमै सहभागी भएको खुल्यो। उनी सदस्यमा नियुक्त भए पनि लगातार तीन पटक बैठकमा उपस्थित नभए पद रिक्त हुने कानुनी प्रावधान अनुसार बोर्डले लिखित रूपमै मन्त्रालयमा जानकारी गराएको थियो। तर उनी बोर्ड बैठकमा कुन आधारमा सहभागी भइन् खुलेन। उनले सामाजिक सञ्जालमा पुरानो नियुक्ति पत्र राखेर आफू सदस्य पदमा कायम रहेको दाबी गरिन्। तर बोर्डको सूचीमा उनको नाम भने हटिसकेको थियो। अन्तमा यही विवादले उनको मन्त्री पद गुम्यो। प्रधानमन्त्री शाहले उनलाई बिहीबारै पदमुक्त गरे।

विवाद नम्बर–१ : ठगी मुद्दामा पक्राउ

वर्ड वाइड कन्सल्टेन्सीको सञ्चालक दीपक साह एमबिबिएस परीक्षा पास गराइदिने भन्दै दुई लाख ठगी गरेको आरोपमा २०७३ असोज १६ गते पक्राउ परेका थिए। तत्कालीन अपराध महाशाखाले उनलाई पक्राउ गरेर उनको शैक्षिक योग्यता समेत नक्कली भएको विवरण सार्वजनिक गरेको थियो।

१० वर्ष अगाडिको आपराधिक घटना र रेकर्ड रहने उपत्यका अपराध अनुसन्धान कार्यालयसँगै जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा समेत जेनजी आन्दोलनमा आगजनी हुँदा अधिकांश रेकर्ड जलेका कारण उनीमाथिको अभियोग पुष्टि भयो या भएन भन्ने खुल्न सकेन। यसबारे उनीबाटै पुष्टि गर्न सम्पर्क गर्दा उनले ‘त्योबारे बोल्न मिल्दैन’ भन्दै पन्छिए।

२०७३ असोज १६ मा प्रहरीले सार्वजनिक गरेको विवरणमा साह वर्ल्ड वाईड कन्सल्टेन्सीमा सञ्चालकका रूपमा पक्राउ परेको विवरण थियो। पुतलीसडकमा रहेको सो कन्सल्टेनीमा संचालकहुँदा महोत्तरी गोनरपुरा–६ का साह काठमाडौँ महानगरपालिका–१२ टेकु बस्ने गरेका थिए। त्यो बेलामा उनको उमेर २६ वर्ष थियो।

प्रहरीले एमबिबिएसमा नाम निकालिदिने भनेर ठगी गरेको आरोपमा साहसहित सोही कन्सल्टेन्सीमा काउन्सीलिङ काम गरी बस्ने सिन्धुली आम्बोटे–९ घर भएका २५ वर्षीय गणेश अधिकारीलाई समेत पक्राउ गरेको थियो।

प्रहरीको विवरण अनुसार काठमाडौँ नागार्जुन नगरपालिका–२ बस्ने सायसा पन्तलाई आफू पुतलीसडक स्थित वर्ल्ड वाईड कन्सल्टेन्सीमा काम गर्ने र विभिन्न डाक्टरहरूसँग राम्रो चिनजान रहेको भन्दै उनले असोज १५ गतेदेखि काठमाडौं विश्व विद्यालयबाट हुने एमबिबिएस परीक्षामा पास गरिदिन्छु तर पैसा लाग्छ भनेर पन्तको आमा विमला पन्तसँग दुई लाख लिने सहमति गरेका थिए।

पछि उनीहरूले महानगरीय अपराध महाशाखामा ठगीको जाहेरी दिएका थिए। अधिकारीले रकम बार्गेनिङ गरी दुई लाखको चेक लिएपछि अब काम हुन्छ, ढुक्क हुनुहोस् भन्दै गरेको अवस्थामा महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो।

अधिकारी र साह दुवै जनालाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि असोज १४ मा महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको प्रहरीको विवरणमा उल्लेख छ।

सो विवरणमा “दीपक कुमार साहले आफूलाई डाक्टर बताई ठगी गर्ने गरेको देखिएको र उनी वास्तविक डाक्टर नभएको खुल्न आएको” समेत उल्लेख छ।

विवाद नम्बर–२ : श्रीमतीलाई सदस्य नियुक्त

स्वास्थ्य बीमा बोर्डको सदस्यमा श्रीमती जुनू श्रेष्ठको नियुक्तिले दोस्रो पटक साह विवादमा परे। लगातार तीन पटक बैठकमा नगएर नियम अनुसार स्वतः हटिसकेकी थिइन्। तर, २०८२ चैत २३ गते सोमबार बेलुका पाँच बजे एकाएक स्वास्थ्य बीमा बोर्डको कार्यालय बबरमहलमा अध्यक्ष चन्द्रबहादुर थापा क्षेत्रीले बैठक राखेका थिए।

त्यो बैठकमा श्रममन्त्री साहकी श्रीमती श्रेष्ठ उपस्थितहुँदा अन्य सदस्यहरू छक्क परेका थिए। किनकि श्रममन्त्री साहकी श्रीमती श्रेष्ठ नियमित बैठकमा तीन पटक अनुपस्थित भएकाले कारबाहीमा परेर निष्कासित भइसकेकी थिइन्।

बोर्डले चैत २५ को बोर्डको स्थापना दिवस पारेर बजेट पास गर्ने अजेण्डा राखेको थियो। श्रेष्ठ सोमबारको बैठकमा पुरै समय बसिन् अनि सक्रिय सहभागी भइन्। यो विषयको खुलासा भएपछि स्वास्थ्य मन्त्री निशा मेहता समेत विवादमा परिन्।

विवाद बढेपछि लगातार तीन पटक बैठकमा नगएर नियम अनुसार स्वतः हटिसकेकी श्रेष्ठले यो नियुक्त चार वर्षसम्मका लागि हो भन्दै आफू बोर्डको सदस्य  कायम रहेको भन्ने किसिमले फेसबुक स्टाटसमार्फत गरेको दाबी स्वास्थ्य बीमा ऐनको विपरीत हुने विषय मिडियामा छताछुल्ल भयो।

चैत २४ मंगलबार श्रममन्त्री दीपक साहको श्रीमतीलाई स्वास्थ्यमन्त्रीले बोर्डको सदस्यमा नियुक्त गरेको सार्वजनिक भएसँगै श्रेष्ठले आफ्नै फेसबुक अकाउन्टमा नियुक्तिको पत्र राख्दै आफ्नो नियुक्ति २०८० सालमै भएको दाबी गर्दै आफू निरन्तर बोर्ड सदस्य भएकाले नयाँ नियुक्ति आवश्यक नभएको आशयको विवरण लेखिन्। श्रेष्ठले फेसबुक स्टाटसमार्फत स्वास्थ्य बीमा बोर्डको सदस्यमा आफ्नो नियुक्ति २०८० सालमा भएको खुलाएर नियुक्ति पत्र समेत सार्वजनिक गर्दै यो नियुक्ति चार वर्ष अर्थात् २०८४ सालसम्मका लागि भएको दाबी गरिन्।

विवाद भएपछि श्रममन्त्री साहकी श्रीमती श्रेष्ठले मंगलबार फेसबुक स्टाटसमा २०८० मंसिर १४ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको सदस्यमा मनोनयन गरेको पत्र सार्वजनिक गर्दै श्रीमानलाई नजोड्न समेत अनुरोध गरिन्।

तर, बोर्डलाई जानकारी नै नदिई बिदेसिएका कारण लगातार तीन पटक बैठकमा अनुपस्थित भएकाले बोर्डले लिखित रूपमा नै उनी सदस्य नभएकोबारे मन्त्रालयमा जानकारी गराइसकेको थियो।

श्रेष्ठ २०८१ पुस १ मा बसेको चालु आर्थिक वर्ष २०८१÷०८२ को चौथो बैठकदेखि हालसम्म एघारौँ बोर्ड बैठक बसिसक्दा पनि लगातार अनुपस्थित रहेको भनेर जानकारी गराउँदै बोर्डका तत्कालीन कार्यकारी निर्देशक रघुराज काफ्लेले २०८२ वैशाख ४ मा स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेका थिए। काफ्लेले श्रेष्ठको विषयमा मन्त्रालयमा लेखेको पत्रमा बोर्ड सदस्यको अनुपस्थितिले बोर्डको बैठक र निर्णय प्रक्रिया प्रभावित भएको समेत उल्लेख छ।

‘स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २५ को उपदफा १ (घ) मा बोर्डलाई जानकारी नदिई लगातार तीन पटक बोर्ड बैठकमा अनुपस्थिति भएमा उक्त पद रिक्त हुने व्यवस्था रहेकोले नियम बमोजिम आवश्यक कार्यान्वयनका लागि अनुरोध गर्दछु,’बोर्डले मन्त्रालयलाई लेखेको सो पत्रमा उल्लेख छ।

बोर्डलाई जानकारी नदिई विदेश गएको र श्रीमान् मन्त्री बनेपछि पुनः स्वास्थ्य बीमामा उनी फर्किएको देखिन्छ। स्वास्थ्य मन्त्री निशा मेहताले उनलाई सोमाबार पुनः बोर्डको सदस्यमा नियुक्त गरेर पठाएको भए पनि थप विवादबाट जोगिन त्यो पत्र लुकाएर पुरानै नियुक्त भएको सदस्यलाई निरन्तरता दिएको बहाना बनाएको देखिन्छ।

बोर्डले हटाइसकेको व्यक्ति सरकार बदलिएसँगै पुन बैठकमा उपस्थित भएर निर्णय प्रक्रियामै श्रेष्ठ सहभागी भइन्। नातावाद र सुशासनको जगमा भएको जेनजी आन्दोलन र त्यसपछिको निर्वाचनपछि बनेको सरकारको मन्त्रीले नै अर्को मन्त्रीको श्रीमती नियुक्त गरेको भन्दै आलोचना भएपछि अहिले पुरानै नियुक्तिको निरन्तरताको दाबी भइरहेको छ।

तर, नियम अनुसार श्रेष्ठ पुरानो नियुक्ति अनुसार पनि बोर्ड सदस्य छैनन्। मंगलबार बेलुका बोर्डको पदाधिकारीहरूबारेको आधिकारिक विवरणमा समेत उनको नाम छैन। यसले स्वास्थ्यमन्त्री निशा मेहताले उनलाई नयाँ नियुक्ति दिएको तर सार्वजनिक भएसँगै आलोचना बढेपछि पुरानो नियुक्तिको बहाना बनाएको देखियो।

विवाद नम्बर–३ : कर्मचारीलाई धम्की

साहको विवादको शृङ्खला यतिमा मात्रै रोकिएन। साहले बुधवार ‘दसौँ स्वास्थ्य बीमा दिवस २०८२’को कार्यक्रममा बोल्दै कर्मचारीलाई अमर्यादित र भद्दा शब्दको प्रयोग गर्दै  भाषणमा नै कर्मचारीले देश डुबाएको तर्क गर्दै सच्चिन चेतावनी दिएका थिए।

कार्यक्रममा बोल्दे मन्त्री साहले ‘पहिले जनता हुँदा नेताहरूले देश बिगार्यो भन्ने लागेको तर्क गर्दै ,‘जहिलेदेखि मन्त्री भएको छु, ब्यूरोक्रेसीले जसरी घुमाएका छ नि, यो त नेताले मात्रै डुबाएको हैन हजुर। बढी ब्यूरोक्रेसीले डुबाएको हो यो देश हजुर। त्यस्तो लाग्न थालेको छ।’ भनेका थिए।

त्यसै कारणले विशेषगरी कर्मचारीले आत्मालोचना गर्न पनि उनले चेतावनी दिएका थिए। ‘नेताहरूलाई घुमाउने काम बन्द गर्नुहोस्,’उनले भनेका थिए।

त्यति मात्रै हैन साहले स्वास्थ्य बीमा बोर्डका पदाधिकारीलाई ‘तपाईँले लिएका डिसिजनमा आफूलाई जनताको जुत्तामा राखेर हेर्नुहोला...’ भन्ने अमर्यादित शब्दको प्रयोग गरी भाषणमा भद्दा मजाक गरेर हाँस्दै ‘आज फेरी बढी फेमस हुने दिन छ जस्तो लागिरहेको छ मलाई’ भनेका थिए।

उनले आजभोलि आफू फेमस भइरहेको तर्क गर्दै ‘पत्रकारहरूले अलि बढी फेमस बनाउनु भएको मलाई, ठिकै छ। म फेरी नबोल्ने मान्छे। लुकेर बस्ने मान्छे, लुक्न पनि दिएनन् क्या...’ भनेका थिए।

स्वास्थ्य बीमा बोर्डलाई ‘यो बीमा बोर्डको सदस्यको काम सिग्नेचर बाहेक अरू पनि केही हो की?’ भन्दै कटाक्ष समेत गरेका थिए।

बोर्डका पदाधिकारीलाई रबरस्ट्याम्पका रूपमा प्रयोग गर्ने चलन बन्द गर्न समेत उनले चेतावनी दिएका थिए। उनले ‘म स्ट्रंली भन्न चाहन्छु, यदि बोर्डका सदस्यहरू रेस्पोन्सिबल छन् भने त्यो नियम तुरुन्त फाल्नुहोस् र तपाईँहरू हरेक डिसिजनको एकाउण्टीबिलिट लिनुहोस्’ भन्दै विवादित र विरोधाभास भाषण समेत गरेका थिए।

श्रममन्त्री साहले कार्यक्रममा स्वास्थ्य बीमा बोर्ड सह सचिवको दबाबमा स्वास्थ्य बीमा बोर्ड चल्नुपरेको तर्क गर्दै स्वास्थ्य मन्त्रालयलाई सच्चिन चेतावनी दिएका थिए। ‘सबै भन्दा पहिले त म स्वास्थ्य मन्त्रालयलाई सच्चिन आग्रह गर्दछु,’उनले भाषणमा भनेका थिए। मुख्यगरी स्वास्थ्य मन्त्रालयकै भूमिकाका कारण स्वास्थ्य बीमा बोर्ड कमजोर बनेको उनले तर्क गरेका थिए।

उनले स्वास्थ्य बीमा कार्यक्रम बिग्रनुमा स्वास्थ्य मन्त्रालय, बोर्ड र स्वास्थ्यकर्मी तथा कर्मचारीलगायत भएको तर्क गरेका थिए।

विवाद नम्बर ४ : वैदेशिक रोजगार व्यवसायीसँगको शंकास्पद सम्पर्क

यो बिचमा उनले केही वैदेशिक रोजगार व्यवसायीहरूसँग भेटेको र भेटघाटको विषय निकै शंकास्पद रहेको सूचना प्रधानमन्त्रीको सचिवालय हुँदै पार्टीसम्म पुगेको थियो। उनले आफ्नो सचिवालयमा राखेका केही व्यक्तिको पृष्ठभूमि समेत शंकास्पद देखिएको सूचनाहरू आइरहेका थिए।

त्यसबारे प्रधानमन्त्रीको सचिवालयसँगै पार्टीका केही व्यक्तिहरूले निगरानी समेत सुरु गरिसकेका थिए। त्यही बेलामा उनको श्रीमतीको घटना सार्वजनिक भयो। अन्तमा पार्टीले अनुशासनको कारबाहीमा पदबाट हटाउन सिफारिस गर्यो र प्रधानमन्त्री बालेन्द्रले पनि तत्काल कार्यान्वयन गरे।

चैत २६, २०८२ बिहीबार २३:२८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।