टाइब्रेकरको रोमाञ्चसँगै सौभाग्य गोल्डकपको सेमिफाइनल समीकरण पूरा

टाइब्रेकरको रोमाञ्चसँगै सौभाग्य गोल्डकपको सेमिफाइनल समीकरण पूरा

बुटवल : बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। बिहीबार सम्पन्न दुई खेलसँगै प्रतियोगिताको अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो।

वर्षाका कारण बुधबार स्थगित भएको तेस्रो क्वार्टरफाइनल बिहीबार खेलाइएको थियो। सोही खेलमा अभिषेक चर्चलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै मोनष्टर गाइजले सेमिफाइनलमा स्थान सुरक्षित गर्यो।

यस्तै, बिहीबार नै भएको अन्तिम क्वार्टरफाइनलमा आयोजक सौभाग्य युवा क्लबलाई टाइब्रेकरमा ५-३ ले स्तब्ध पार्दै डिफेन्डिङ च्याम्पियन झरना स्पोर्टिङ क्लब कुञ्जलापुर अन्तिम चारमा प्रवेश गर्यो।

अब शुक्रबार हुने पहिलो सेमिफाइनलमा मोनष्टर गाइजले देवदह ब्वाइज रुपन्देहीको सामना गर्नेछ भने दोस्रो सेमिफाइनलमा झरना स्पोर्टिङ क्लब र कपिलवस्तु ११ बीच प्रतिस्पर्धा हुनेछ।

सिद्धेश्वर खेलमैदानमा दिउसो भएको खेलमा मोनष्टर गाइजका रोजल दाहालले खेलको १८ औ मिनेटमा खाता खोले। तर खेलको २० औ मिनेटमा पाएको कर्नर किकलाई अभिषेक चर्चका बिक्रम लामाले जाली चुमाए। खेलको २५ औ मिनेटमा मोनष्टर गाईजका आमोस रानाले डिबक्स बाहिरबाट आकर्षक गोल गर्दै खेलमा पुनः अग्रता दिलाए। 

तर अभिषेक चर्चका टिम क्याप्टेन सुजित बुढाथोकीले खेलको ३० औ मिनेटमा बराबरी गोल गरे। खेलको ४६ औ मिनेटमा जेबिन लामिछानेले अभिषेक चर्चका अनुज गैरेलाई डिबक्स भित्र लडाएपछि पेनाल्टीको अवसर पायो। सुजित बुढाथोकीले गरेको पेनाल्टी प्रहार किपर प्रतीक सुनारले रोके पनि रिबाउण्ड भएको बललाई सुजितले नै जाली चुमाए। 

केही समयको यो अग्रतालाई खेलको ५७ औ मिनेटमा मोनष्टर गाइजका अभिषेक महतोले पुनः बराबरी गरे। निखिलको पासलाई महतोले जाली चुमाए। निर्धारित समय ३-३ गोलको बराबरी भए पनि खेल टाइब्रेकरमा धकेलियो। टाइब्रेकरमा ३-१ गोलले मोनष्टर गाइज विजयी भयो।

यता बिहीबार नै भएको अन्तिम क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन झरना स्पोर्टिङ क्लब कुन्जलापुरले आयोजक सौभाग्य युवा क्लबलाई पराजित गरेको छ। झरनाका रिजन क्षेत्रीले खेलको १९ औ मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएका थिए। आयोजक सौभाग्यका अभाय योमीको खेलको ३१ औ मिनेटमा बराबरी गोल गरे। निर्धारित समयमा थप गोल हुन सकेन। 

टाइब्रेकरमा झरना विजयी भयो। प्रतियोगितामा प्रथम हुने टोलीले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा कोचलाई नगद पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव प्रकाश क्षेत्रीले बताए। प्रतियोगितामा रुपन्देहीसहित चितवन, नवलपरासी, कपिलवस्तुका गरी १२ क्लबहरूले भाग लिएका छन्।

चैत २६, २०८२ बिहीबार २२:४०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।