मदन भण्डारी राजमार्गमा पर्ने साढे १३ हजारभन्दा बढी रुख कटान

मदन भण्डारी राजमार्गमा पर्ने साढे १३ हजारभन्दा बढी रुख कटान
फाइल तस्बिर

झापा : राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रुख कटानको कार्य सम्पन्न भएको छ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका अनुसार सडक विस्तारको क्षेत्रमा पर्ने सुनसरी, मोरङ, झापा र इलामका सामुदायिक तथा सरकारी वनका गरी कूल १३ हजार ८३४ रुख काटिएका हुन्।

राजमार्ग योजना कार्यालयकी इन्जिनियर स्वस्तिका भट्टराईले सडकको भोगाधिकारका लागि माग गरिएको ५०.८४३ हेक्टर क्षेत्रफलमा रहेका सबै रुख कटान भइसकेको जानकारी दिइन्।

सबैभन्दा बढी सुनसरी जिल्लामा पाँच हजार ५००, इलाममा तीन हजार ३६६, झापामा दुई हजार ८०५ र मोरङमा दुई हजार १६३  रुख काटिएको इन्जिनियर भट्टराईले जानकारी दिइन्। सडक रेखाङ्कनभित्र पर्ने रुख काटिएसँगै हालती रुखहरूको घाटगद्दी गर्ने र नम्बरिङ गर्ने कार्यलाई तीव्रता दिइएको छ।

इन्जिनियर भट्टराईका अनुसार मोरङ जिल्लामा घाटगद्दी र नम्बरिङको काम पूरा भइसकेको तर सम्बन्धित डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्न बाँकी छ। हाल सुनसरीको झण्डा चोकदेखि झापाको बाहुनडाँगीस्थित पाटापुरसम्मको १३५.२९ किलोमिटर सडकखण्ड निर्माणाधीन अवस्थामा छ। 

चैत २६, २०८२ बिहीबार २१:३६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।