'रङ नम्बर' गएको फोनमा भनाभन हुँदा पाटन घुम्न पुगेका दाजुभाइमाथि छुरा प्रहार गरी हत्या
काठमाडौं : ललितपुरको पाटन दरबार स्क्वायरमा बुधबार साँझ बाक्लो भिड र सुरक्षाकर्मीको उपस्थिति रहेको अवस्थामै झापाका दाजुभाइमाथि साङ्घातिक आक्रमण भयो। एक 'रङ नम्बर'मा गएको टेलिफोनमा भएको सामान्य विवादको कारण मंगलबाजार क्षेत्रमा साथीहरूसँग घुम्न पुगेका दाजुभाइ सुमित नेम्वाङ र सृजन नेम्वाङमाथि छुरा प्रहार भयो।
बुधबार साँझ करिब साढे ७ बजे कृष्ण मन्दिरबाट मंगलबजार जाने क्षेत्रमा खटिएका प्रहरी र दर्शनार्थीहरूको अगाडि उक्त बीभत्स घटना भएको थियो। घटना यति आकस्मिक र योजनाबद्ध थियो कि नजिकै रहेको प्रहरी बिटका सुरक्षाकर्मी र ठूलो सङ्ख्यामा रहेका सर्वसाधारणले वास्तविकता बुझ्न नपाउँदै दाजुभाइमाथि छुरा प्रहार भयो।
प्रहरीका अनुसार बुधबार करिब साढे सात बजे सुमित र सृजनमाथि छुरा प्रहार भएको थियो। हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले सोही क्षेत्रमा लागूऔषध सेवन गरी बस्ने ललितपुर भोलढोकाका ३२ वर्षीय सञ्जु भनिने संजिव नेपाली र नवलपरासी गैँडाकोट घर भई हाल ललितपुर महानगरपालिका-८ बस्ने २२ वर्षीय गगन सुनारलाई प्रहरीले पक्राउ गरेको छ।
मन्दिर एरियामा करिब आधा घण्टा नबित्दै दुई जनाको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होबिन्द्र बोगटीले उकेरालाई जानकारी दिए। उनले नेपाली र सुनारले नेम्वाङ दाजुभाइको हत्या गरेको बताए।
बोगटीले भने, “भिडभाड भएको समयमा त्यही माथि प्रहरीको बिट बस्ने ठाउँमै उक्त घटना भएको देखिन्छ। यति छिट्टो घटना घट्यो कि अप्रत्याशित लाग्छ। निकै दुखको घटना दुई जना दाजुभाइको ज्यान गयो।”
भएको के थियो?
घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उक्त दिन सुमित र सृजन नेम्वाङ आफ्ना काकासहित केही साथीसँग दिउसो देखिनै पाटनको कृष्ण मन्दिर क्षेत्रमा घुम्न गएका थिए। घुम्नेक्रममा सुमितले फोन गर्दा झुक्किएर अपरिचित नम्बरमा फोन जान्छ। फोन उठाउने व्यक्तिले गालीगलौज गरेपछि भनाभन हुन्छ। सोही क्रममा 'कहाँ छस्' भन्दा सुमितले 'पाटन एरियामै' रहेको भन्छन्।
सोही क्रममा सुमितले पाटन क्षेत्रमा आफू बसेको लोकेसन समेत दिन्छन्। सो पश्चात सञ्जीव र गगनले नेम्वाङ दाजुभाइ रहेको क्षेत्रमा आएर छुरा प्रहार गर्छन्। सृजनले दाइ सुमितमाथि आक्रमण भएको देखेर तत्कालै बचाउन जाँदा उनीहरूले सृजनको घाँटी र पेटमा समेत छुरा प्रहार गरेर भागेको प्रहरी प्रमुख बोगटी बताउँछन्।
“फोनमा सामान्य भनाभन, नेम्वाङले आफू रहेको स्थान बताउनु र तत्कालै छुरा निकालेर प्रहार गरेको देखिन्छ। प्रहरीले पनि तत्कालै रेस्पोन्स गरेको दियो,” उनले भने।
छुरा प्रहार भएको सूचना प्राप्त हुनासाथै तत्काल उक्त घटनास्थलमा प्रहरी टोली गएको थियो। गम्भीर घाइते अवस्थामा रहेका नेम्वाङ दाजुभाइलाई उद्धार गरी प्रहरीको गाडीमा राखी बिएण्डबी अस्पतालमा पुर्याएको थियो। तर उपचारको क्रममा साढे ८ बजे डाक्टरले दुवै जनाको मृत्यु भएको घोषणा गरेको थियो।
प्रमुख बोगटीका अनुसार यता, घटनामा संलग्न नेपाली र सुनारको खोजीको क्रममा प्रहरीले कृष्ण मन्दिर क्षेत्रभन्दा करिब २ सय मिटर र ५ सय मिटरको दुरीमा पक्राउ गरेको बताए। उनले भने, “हामीले उनीहरूको तत्कालै खोजी गर्यौ। दुई जना दुई गल्ली हुँदै भागेका थिए। एक जनालाई घटनास्थलभन्दा करिब ५ सय मिटर र अर्कोलाई २ सय मिटर मिटरको दुरीमा समाएका थियौं।”
प्रमुख बोगटीका अनुसार सामान्य विषयमा अपरिचित युवाहरूले आफ्नो क्षणिक आवेगलाई नियन्त्रणमा लिन नसक्दा र छुरा प्रहार गर्ने व्यक्ति संजिव नेपालीले नियोजित तरिकाले छुरा साथमा बोकेर आक्रमण गर्दा उक्त घटना भएको बताउँछन्।
नेपाली र सुनारविरुद्ध नेम्वाङको परिवारले किटानी जाहेरी दिएका थिए। सोहीअनुसार म्याद थप गरेर थप अनुसन्धान भइरहेको र मृतक परिवारका सदस्य काठमाडौं आइरहेकोले सनाखत हुन् नसकेको बोगटी बताउँछन्।
“उहाँहरूले जाहेरी दिनुभएको छ। आज म्याद थप गरी थप अनुसन्धान भइरहेको छ,” उनी अगाडि भन्छन्, “मृतक परिवारको सदस्य आइनपुगेकाले हाल मृत शरीर बिएण्डबी अस्पतालमै छ मृतकको परिवार आएपछि पाटन अस्पतालमा सनाखत हुन्छ।”
प्रहरीका अनुसार सञ्जीव नेपाली र गगन सुनारको साथबाट धारिलो हतियार (छुरा), फलामे नक, घटनामा प्रयोग भएको संजिव नेपालीको स्कुटर र दुई थान मोबाइल बरामद गरेको छ।
चैत २६, २०८२ बिहीबार २२:१२:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।