मन्त्री साहलाई बर्खास्त गरेपछि प्रधानमन्त्री बालेनले आफैसँगै राखे श्रम मन्त्रालय
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को कार्यविभाजनमा हेरफेर गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'को सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार कार्यविभाजन हेरफेर गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम कार्यविभाजन गरी हेरफेर गरिएको हो। प्रधानमन्त्री बालेनले श्रममन्त्री साहलाई पदमुक्त गरेपछि सो मन्त्रालयको जिम्मेवारीसमेत आफैँले सम्हाल्ने गरी नयाँ कार्यविभाजन गरेका छन्।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार अब प्रधानमन्त्री बालेनसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक थप तीन मन्त्रालयको जिम्मेवारी कायम भएको छ। प्रधानमन्त्रीसँग अब रक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार रहेको छ। मन्त्रिमण्डलका अन्य १३ जना मन्त्रीहरूलाई भने साबिककै जिम्मेवारीमा कायम राखिएको छ।
श्रममन्त्री साहलाई पदीय मर्यादाको दुरुपयोग गरेको आरोपमा प्रधानमन्त्रीले बिहीबार नै पदमुक्त गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्री साहले लामो समयदेखि निष्क्रिय रहेकी आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि सिफारिस गरेको थिए। नियुक्तिकै दिन उकेराले साह ठगीमा पक्राउ परेको प्रमाणसहित समाचार लेखेको थियो।
सोही सिफारिस र पार्टीको केन्द्रीय अनुशासन आयोगको प्रतिवेदनका आधारमा प्रधानमन्त्री बालेनले साहलाई हटाउने निर्णय लिएका हुन्। रास्वपाले पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन (राईट टु रिकल) सक्ने व्यवस्था भएकाले मन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको थियो।
साथै पार्टीले यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखिएकाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतालाई सचेत गराउन प्रधानमन्त्री बालेनसमक्ष सिफारिस गरेको थियो।

चैत २६, २०८२ बिहीबार १८:५२:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।