राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गर्यो सुपरस्पेसियालिटी सेवा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गर्यो सुपरस्पेसियालिटी सेवा

दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुपरस्पेसियालिटी सेवा विस्तार गरेसँगै लुम्बिनी प्रदेशका दाङ, रोल्पा, रुकुम, सल्यान र प्यूठानका हजारौं बिरामी लाभान्वित भएका छन्। प्रतिष्ठानले हाल न्युरोसर्जरी, युरोसर्जरी र कार्डियोलोजी सेवा सञ्चालनमा ल्याएको छ।

प्रतिष्ठानको तथ्याङ्कअनुसार गत वैशाख १ देखि चैत २१ गतेसम्म युरोलोजी विभागबाट पाँच हजार ७४ र न्युरोसर्जरीबाट चार हजार २४४ बिरामीले सेवा लिएका छन्। सोही अवधिमा न्युरोसर्जरीतर्फ २०३ र युरोलोजीतर्फ ६४९ वटा शल्यक्रिया सम्पन्न भएका छन्। 

कार्डियोलोजी (मुटु रोग) तर्फ ४३९ जनाले ओपिडी सेवा लिएका छन्। सेवालाई प्रभावकारी बनाउन प्रतिष्ठानले वीर अस्पताल र शिक्षण अस्पताल (टिचिङ) लगायतका संस्थासँग सहकार्य समेत सुरु गरेको छ। सेवा विस्तार भए पनि भौतिक पूर्वाधारको अभाव भने अझै चुनौतीपूर्ण छ। 

पर्याप्त भवन नहुँदा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम अस्थायी संरचना र भाडाका घरमा सञ्चालन भइरहेका छन्। प्रस्तावित ४०० शैयाको अस्पताल निर्माणको गुरुयोजना हाल अर्थ मन्त्रालयमा सिफारिसको क्रममा रहेको निमित्त उपकुलपति प्रा. श्याम लम्सालले जानकारी दिए। हाल प्रतिष्ठानमा दैनिक करिब एक हजार बिरामी उपचारका लागि आउने गरेका छन्। 

चैत २६, २०८२ बिहीबार १७:३६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।