कर्तव्यनिष्ठ भएर राष्ट्र सेवामा लाग्न प्रधानमन्त्री बालेनको निर्देशन
भक्तपुर : प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'ले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन आग्रह गरेका छन्।
भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा बिहीबार आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै उनले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद प्राप्त गर्न सफल क्याडेटहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे।
मातृभूमि र जनताप्रति पूर्ण समर्पित भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै बालेनले सैनिक आचरण, चेन अफ कमान्ड र अनुशासनको दायराभित्र रही सदैव आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिए। फरक सामाजिक पृष्ठभूमिका जवानहरूको नेतृत्व गर्दै एकीकृत र सक्षम टोली निर्माण गर्न नवआयुक्त अधिकृतहरू सफल हुने उनले विश्वास व्यक्त गरे।
सो समारोहमा प्रधानमन्त्री बालेनले उत्कृष्ट अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी तथा छडी प्रदान गरे। उनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा १८३ अधिकृत क्याडेटहरूले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए।
सोही अवसरमा प्रधान सेनापति महारथी अशोकराज सिग्देलले मित्रराष्ट्र केन्या र जाम्बियाबाट तालिममा सहभागी तीन शिक्षार्थी अधिकृत क्याडेटलाई ‘नेपाली मिलिटरी एकेडेमी मेडालियन’ प्रदान गरे। नेपाली सैनिक प्रतिष्ठानबाट हालसम्म अधिकृत क्याडेट तथा पदिक र बिल्लादार अधिकृत क्याडेट गरी ६ हजार ७३४ जना तथा एक हजार ६०८ प्राविधिक अधिकृतहरूले सफलतापूर्वक तालिम पूरा गरिसकेका छन्।
सन् २०१२ देखि विदेशी शिक्षार्थीहरूसमेत सहभागी गराइ तालिम सञ्चालन हुँदै आएकामा हालसम्म विभिन्न राष्ट्रका ३२ विदेशी शिक्षार्थीहरूले तालिम सम्पन्न गरिसकेका छन्। समारोहमा नवआयुक्त अधिकृतहरूलाई अभिभावक तथा आफन्तजनहरूले सुशोभन गरेका थिए।
चैत २६, २०८२ बिहीबार १७:२३:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।