भेपमार्फत सुन तस्करी प्रकरण: पूर्वसभामुख महरा र भन्सार कर्मचारीविरुद्ध सात करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर

भेपमार्फत सुन तस्करी प्रकरण: पूर्वसभामुख महरा र भन्सार कर्मचारीविरुद्ध सात करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ल्याएको सुन तस्करी र हिनामिना प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महरासहित २८ जनाविरुद्ध सात करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आज विशेष अदालतमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरेको हो।

बिहीबार आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठसहितका कर्मचारी र बिचौलियाहरूलाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्यो। आयोगले उनीहरूमाथि ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा बिगो दाबी गरेको छ।

२०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईमार्फत ल्याएका दुईवटा सुटकेसभित्र रहेका ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) मा ९ किलोभन्दा बढी सुन लुकाइएको थियो। भन्सारमा जाँच गर्ने क्रममा तत्कालीन एक्स-रे स्क्रिनरले उक्त ब्यागेजमा  शंकास्पद वस्तु देखिएपछि त्यसलाई रेड च्यानल (आरसी) मा पठाएका थिए।

एक्स-रे मेसिनले धातुको मोटाइ र रङ छुट्याउन सक्ने भए पनि आरसी क्षेत्रमा खटिएका भन्सार अधिकृत सुवेन्द्र श्रेष्ठलगायतका कर्मचारीले सुन भएको थाहा हुँदाहुँदै भौतिक जाँच नगरेर अनुकूल समयमा ती सामान सट्टापट्टा गरी लैजाने नियतले जफत गरी मिलेमतोमा सुन साटफेर र बिक्री गरेको अख्तियारको अनुसन्धानले देखाएको छ।

तत्कालीन प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले जफत गरिएको सामग्री नियमानुसार गोदाममा नराखी आफ्नै कार्यकक्षमा राखेर चिनियाँ तस्करहरूसँग अस्वाभाविक सम्पर्क गरेको पुष्टि भएको छ। उनीहरूले प्रमाण नष्ट गर्ने उद्देश्यले चिनियाँ नागरिकको राहदानीसमेत फिर्ता गरिदिएका थिए।

सामान २०७९ माघ २९ गते मात्र लिलामी शाखामा पठाइयो। त्यहाँ पुगेपछि ती सामानलाई सिसिटिभीको निगरानी नपर्ने ठाउँमा सारि सुरक्षा गार्ड निर्मलकुमार विक र नायब सुब्बा मधुसुदन पोखरेलको मिलेमतोमा एउटा भेप निकालेर कोटेश्वरको सुनचाँदी पसलमा परीक्षण गर्दा ९९.६ लाल सुन रहेको पुष्टि भयो र त्यसबाट सुनको सिक्रीसमेत बनाइयो।

पूर्वसभामुख कृष्ण बहादुर महरा र उनका छोरा राहुल महराले चिनियाँ तथा बेल्जियम नागरिकहरूसँग मिलेर भन्सार विभागका प्रमुख प्रशासक अरुण पोखरेललगायतलाई प्रभावमा पारी ती सामान भन्सारबाट निकाल्न पटक-पटक भेटघाट र फोन सम्पर्क गरेको अनुसन्धानबाट खुलेको छ। 

योजनाअनुसार गोदामबाट सुन भएका भेप निकालेर सुन नभएका भेप राखियो। अनि आफ्नो अपराध लुकाउन ती सामान लिलाम भएको देखाइयो। भन्सारकै नायब सुब्बा र सुरक्षा गार्डको मिलेमतोमा भेपभित्रको सुन निकालेर कोटेश्वरका सुन पसलमा चेकजाँच गरी भारतीय व्यापारीमार्फत ओटुस्थित पशुपति सुनचाँदी पसलबाट उक्त सुन बिक्री गरिएको अनुसन्धानमा खुलेको छ।

सुन बिक्रीबाट प्राप्त अवैध रकम दीपिका थापा, प्रेरणा थापा, ललिता थापा र 'डेक्सटर ट्राभल्स एन्ड टुर्स प्रा.ली.' को खातामा जम्मा गरियो। साथै, रामकेशव थापा क्षेत्री र अमृत कार्कीको नाममा जग्गा खरिद गरी सम्पत्तिको व्यवस्थापनसमेत गरियो।

यसरी कुल ८ हजार ४८० दशमलव ५१ ग्राम सुनबापत हुन आउने सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा बराबरको सम्पत्ति हिनामिना गरेको पुष्टि भएपछि अख्तियारले संलग्न सबैविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले मुख्य १० कर्मचारीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो बमोजिम जरिवाना र कैद सजाय माग गरेको छ। तत्कालीन प्रमुख प्रशासक अरुण पोखरेललाई सार्वजनिक संस्थाको प्रमुख भएकाले थप सजायको समेत माग गरिएको छ।

त्यसैगरी, कृष्ण बहादुर महरा, राहुल महरा, चिनियाँ नागरिक दाओजिन वाङसहित १८ जनालाई मुख्य कसुरदार सरहकै सजाय हुने गरी 'मतियार' को रूपमा मुद्दा चलाइएको छ।

चैत २६, २०८२ बिहीबार १७:०३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।