नियुक्तीकै दिन विवादमा आएका श्रममन्त्री साह पदमुक्त

नियुक्तीकै दिन विवादमा आएका श्रममन्त्री साह पदमुक्त

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्। प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई पदबाट हटाउने निर्णय गरेका हुन्।

नियुक्तीकै दिन उकेराले साह ठगीमा पक्राउ परेको प्रमाणसहित समाचार लेखेको थियो। उनी पून श्रीमतीको नियुक्तीमा जोडिएर विवादमा आएपछि पार्टी सभापति  रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री शाहले बिहिवार पदमुक्त गर्ने निर्णय गरेका हुन्।

लामो समयदेखि निष्क्रिय अवस्थामा राखिएकी स्वास्थ्य बिमा बोर्डको सदस्य रहेकी मन्त्री साहकी श्रीमतीलाई साह मन्त्री भएपछि पदीय मर्यादाको दुरुपयोग गरी पुनः नियमित काममा सक्रिय गराएको भन्दै रास्वपाले बिहीबार नै कारबाहीका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो।

बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने पार्टीसमक्ष पेस गरेको थियो। रास्वपाले साहको यो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको निष्कर्षसमेत निकालेको थियो। यसैका आधारमा प्रधानमन्त्री बालेनले श्रममन्त्री साहलाई पदमुक्त गरेको प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्।

रास्वपाले पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन (राईट टु रिकल) सक्ने व्यवस्था भएकाले मन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको थियो।

साथै पार्टीले यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखिएकाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतालाई सचेत गराउन प्रधानमन्त्री बालेनसमक्ष सिफारिस गरेको थियो। त्यसका आधारमा प्रधानमन्त्री बालेनले मन्त्री मेहतालाई सचेत गराइ सकेको जनाइएको छ।

चैत २६, २०८२ बिहीबार १६:००:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।