उपसभामुखमा दुई जनाको उम्मेदवारी, रुवीको जित निश्चित
काठमाडौं : प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन्। बिहीबार संसद् सचिवालयमा दुवै उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएकी हुन्।
संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने प्रावधान छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद (डीपी) अर्याल सभामुखमा निर्विरोध निर्वाचित भइसकेका छन्। अब उपसभामुखका लागि फरक दलका महिला सांसदहरूबीच प्रतिस्पर्धा हुन लागेको हो। उपसभामुखको निर्वाचन भोलि (शुक्रबार) हुने कार्यक्रम छ।
उम्मेदवारी दर्तासँगै श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुरको पक्षमा स्पष्ट बहुमत देखिएको छ। उनलाई संसदको सबैभन्दा ठूलो दल रास्वपाका साथै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले समेत समर्थन गर्ने घोषणा गरेका छन्।
ठाकुरको प्रस्तावकमा श्रम संस्कृति पार्टीका आरेन राई रहेका छन् भने समर्थकमा रास्वपाका अशोक चौधरी र श्रम संस्कृतिकी अम्बिकादेवी सङ्ग्रौला रहेका छन्। प्रतिनिधिसभामा रास्वपा र श्रम संस्कृति पार्टीको मात्रै १८९ मत रहेको छ, जुन दुई-तिहाइभन्दा बढीको समर्थन हो। यसका अतिरिक्त अन्य विपक्षी दलहरूको समेत समर्थन रहेकाले २५ वर्षीया समानुपातिक सांसद ठाकुर उपसभामुख निर्वाचित हुने निश्चित देखिएको छ।
यता, राप्रपाले आफ्नै सांसदहरूको समर्थनमा सरस्वती लामालाई उम्मेदवार बनाएको छ। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले यसअघि रास्वपा सभापति रवि लामिछानेसँग भएको छलफलमा उपसभामुखमा समर्थन गर्ने आश्वासन पाएको दाबी गरेका छन्। रास्वपाले अन्तिम समयमा श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने निर्णय गरेपछि उनले असन्तुष्टि व्यक्त गरेको छ।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले भने नयाँ राजनीतिक परिस्थिति र परिवर्तनकारी शक्तिहरूबीचको सहकार्यका लागि श्रम संस्कृति पार्टीलाई समर्थन गरिएको जनाएका छन्। प्रतिनिधिसभाको भोलिको बैठकले नयाँ उपसभामुख चयन गर्नेछ।
चैत २६, २०८२ बिहीबार १५:१८:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।