रिहा भएपछि केपी ओलीले भने- ‘आधार र प्रमाण नपुगेपछि म रिहा भएँ’
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी रुपमा नियन्त्रणमा राखेको दाबी गरेका छन्।
सर्वोच्च अदालतको परमादेशपछि रिहा भएका ओलीले सामाजिक सञ्जाल फेसबुकका स्टाटस लेख्दै मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि राज्य आफूलाई छाड्न बाध्य भएको बताएका हुन्।
उनले लेखेका छन्, "सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु।"
उनले आफ्नो रिहाइका लागि परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दै रिहाइका लागि आवाज उठाउने सबैलाई धन्यवाद दिएका छन्। साथै, हिरासतमा रहँदा मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताललाई पनि उनले धन्यवाद दिएका छन्।
रिहाइको माग गर्ने क्रममा प्रदर्शनमा घाइते भएका कार्यकर्ताहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने माग गर्दै ओलीले लेखेका छन्, "उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु।"
प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर थप उपचार गराउने समेत उनले बताएका छन्।
सर्वोच्च अदालतले विभिन्न पाँच कारण देखाउँदै उनलाई रिहा गर्न आदेश गरेको थियो। यद्यपि उनकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट भने अदालतले खारेज गरेको थियो।
सर्वोच्चले अनुसन्धानको प्रगति, उनीहरूको स्वास्थ्य अवस्था र किरियामा बसेको मानवीय संवेदनशीलता जस्ता पक्ष उल्लेख गर्दै थुना बाहिरै बसेर अनुसन्धानमा सहयोग गर्ने गरी तेस्रो पटक थपिएको म्याद सकिएपछि रिहा गर्न आदेश जारी गरेको थियो।
जेनजी आन्दोलन दमन गरेको र विद्यार्थीहरूमाथि गोली चल्दा पनि रोक्ने आदेश नदिएको भन्दै जेनजी आन्दोलन जाँचबुझ छानविन आयोगले हेलचेक्र्याइँ गरेको भन्दै उनीमाथि ज्यान मुद्दा चलेको थियो।
केपी शर्मा ओलीको स्टाटस:
चैत २६, २०८२ बिहीबार १४:२१:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।