चिकित्सकलाई ओलीको आग्रह- ‘पछि झन् जोखिम हुन्छ, अहिल्यै अप्रेसन गर्नुस्’
काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछि आकस्मिक अवस्था आउँदा थप जटिलता बढ्न सक्ने भन्दै चिकित्सकहरूलाई आफ्नो पित्तथैलीको पत्थरीको शल्यक्रिया अहिले नै गरिदिन आग्रह गरेका छन्।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनले आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग गम्भीर चासो व्यक्त गर्दै यस्तो अनुरोध गरेका हुन्।
‘इमर्जेन्सी पर्यो भने मलाई थप जटिलता हुन्छ, त्यसैले सबैले सल्लाह गरेर योजनाबद्ध रूपमा अप्रेसन गरिदिनुहोस्,’ उपचारमा संलग्न एक चिकित्सकले ओलीको भनाइ उद्धृत गर्दै उकेरासँग भने, ‘उहाँले हामीमाथि पूर्ण विश्वास व्यक्त गर्दै ‘मलाई विश्वास छ, तपाईंहरूले राम्रो गर्नुहुन्छ’ पनि भन्नुभएको छ।’
सर्वोच्च अदालतको आदेशपछि बिहीबार प्रहरी हिरासतबाट हाजिरी जमानीमा रिहा भएका ओलीलाई भदौ २३ र २४ को जेनजी आन्दोलनमा कार्की आयोगले दोषी देखाएपछि पक्राउ गरिएको थियो। उनलाई चैत १४ देखि हिरासतका रूपमा शिक्षण अस्पतालमा राखिएको थियो र हाल उनी त्यहीँ उपचाररत छन्।
अस्पतालमा चिकित्सकहरूको टोलीले ओलीको शल्यक्रियाको जोखिम मूल्यांकन गरिरहेको छ। उनको उमेर र अन्य स्वास्थ्य अवस्थाका कारण शल्यक्रिया कति सुरक्षित हुन्छ भनेर विभिन्न विभागका विशेषज्ञहरूले विश्लेषण गरिरहेका छन्।
‘उहाँ पाको उमेरको हुनुहुन्छ, त्यसैले हामी जोखिम मूल्यांकन गर्दैछौँ’,ती चिकित्सकले भने।
ओलीले रगत पातलो बनाउने औषधि सेवन गरिरहेकाले पनि शल्यक्रियाअघि विशेष सजगता अपनाइएको छ। ‘त्यो औषधि बन्द गरेको तीन दिनपछि मात्रै शल्यक्रिया गर्न मिल्छ’, ती चिकित्सकले भने।
जोखिम मूल्यांकनको रिपोर्टका आधारमा आगामी हप्ता शल्यक्रिया गर्ने योजना बनाइएको छ। यद्यपि, चिकित्सकहरूले प्रारम्भिक रूपमा हेर्दा शल्यक्रिया गर्न मिल्ने अवस्थामै रहेको बताएका छन्।
चैत २६, २०८२ बिहीबार १३:५८:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।