ठूलो परिमाणमा लागूऔषधसहित चार जना पक्राउ

ठूलो परिमाणमा लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं : प्रहरीले देशका विभिन्न स्थानमा गरेको विशेष अप्रेशनका क्रममा भारी परिमाणमा नियन्त्रित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

काठमाडौंको भत्केकोपुल, तनहुँको बेनिटार र भक्तपुरको लिवालीबाट उनीहरूलाई नियन्त्रित औषधिसहित नियन्त्रणमा लिइएको हो।

काठमाडौं महानगरपालिका-९ भत्केकोपुलबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ हजार ७० एम्पुल, नोर्फिन १ हजार ११५ एम्पुल र फेनारगन १ हजार ८० एम्पुल सहित सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएका ४२ वर्षीय सन्तोष कुँवरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा सोही महानगरपालिका-९ गैरीगाउँस्थित उनकै डेरा कोठा तलासी गर्दा नगद ३ लाख ११ हजार ५५०, विभिन्न देशका मुद्राहरू र सुन जस्तो देखिने धातुका विभिन्न गरगहनाहरू समेत फेला पारी प्रहरीले बरामद गरेको छ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६९ एम्पुल, फेनारगन ६६ एम्पुल र बुप्रेनोर्फिन ६५ एम्पुलसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१२ बस्ने ३१ वर्षीय सुरज गुरूङ र काठमाडौं गौशाला बस्ने २३ वर्षीय प्रेम सार्की रहेका छन्। अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु२ ख १४०५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

भक्तपुर, भक्तपुर नगरपालिका-८ लिवालीबाट नियन्त्रित लागूऔषध नोर्फिन ९६ एम्पुल, डाइजेपाम ९८ एम्पुल, फेनारगन ९१ एम्पुल र टेन्टाडोल ५४ ट्याब्लेट सहित भक्तपुर लिवाली बस्ने भक्तपुर नगरपालिका-१ दुधपाटी घर भएका ३७ वर्षीय राजु कर्मचार्यलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

चैत २६, २०८२ बिहीबार १३:५५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।