ट्रेकिङ जाँदा गुगल म्याप्सको भर पर्दा चार दिन जंगलमै हराइन्, पानीको भरमा बाँचेकी थिइन् सफ्टवेयर इन्जिनियर सरन्या
एजेन्सी : कर्नाटकको कोडागु जिल्लास्थित ताडियान्डामोल ट्रेकिङ रुटमा हराएकी एक महिला सफ्टवेयर इन्जिनियरलाई चार दिनपछि सकुशल उद्धार गरिएको छ। यो अनुभवपछि ३६ वर्षीया सरन्या जीएस अब आफ्नो अर्को ट्रेकिङ यात्रामा जान हिचकिचाइरहेकी छन्।
केरलको तिरुवनन्तपुरम निवासी सरन्याले अर्को महिना अरुणाचल प्रदेशको तवाङमा ट्रेकिङ जाने योजना बनाएकी थिइन्। तर, अब उनलाई भविष्यमा परिवारबाट अनुमति पाउन गाह्रो हुने मात्र होइन, अचानक पाएको चर्चाले पनि असहज बनाएको छ।
‘अहिले समस्या के छ भने मानिसहरूले मलाई चिन्न थालेका छन्, जसले मलाई अप्ठ्यारो महसुस गराउँछ’, उनले भनिन्।
सरन्या विगत सात-आठ वर्षदेखि ट्रेकिङ गरिरहेकी छन्। उनी २ अप्रिलका दिन अन्य १० जनाको समूहसँग ताडियान्डामोलको करिब साढे दुई घण्टाको ट्रेकमा निस्किएकी थिइन्। वन विभागका अधिकारी अभिषेक वीका अनुसार, समूहका सबै सदस्य दिउँसो १२:३० बजेसम्म फर्किए, तर सरन्या फर्किनन्।

‘म समूहका केही साथीहरूलाई पर्खिन एउटा चट्टानमा बसेँ,’ सरन्याले आफ्नो अनुभव सुनाइन्, ‘जब फर्किएर हेरेँ, उनीहरू त्यहाँ थिएनन्। मैले गुगल म्याप्स प्रयोग गरेँ, तर त्यसले झनै गलत बाटो देखायो र म जङ्गलमा हराएँ।’
बिहान करिब १०:४५ बजेदेखि साँझ ६:४५ बजेसम्म उनी लगातार हिँडिरहिन्। ब्याट्री सकिएर फोन बन्द हुनुअघि उनले आफू बसेको होमस्टेका मालिकलाई फोन गरेर आफू हराएको जानकारी दिएकी थिइन्।
साँझ परेपछि उनले एउटा खोलाको किनारमा ढुङ्गामाथि रात बिताउने निर्णय गरिन्। उनीसँग भएको एउटा केरा र आधा लिटर पानी पहिल्यै सकिएको थियो।
‘मलाई डर लागेको थिएन, तर एकपटक चिप्लिएर ढुङ्गामा बजारिँदा भने आत्तिएकी थिएँ’, उनले भनिन्।
उनले आफूलाई सम्हालिन्। भोलिपल्ट मांसपेशीमा आएको दुखाइका कारण उनी चुचुरोतिर फर्कन सकिनन्। त्यसपछिका दिनहरूमा उनले खोलाको पानी पिएरै बिताइन्।

‘मलाई तौल घटाउन व्रत बस्ने बानी छ, त्यसैले भोक खासै समस्या भएन’, उनले भनिन्।
शनिबार पानी पर्यो। उनी एउटा ठूलो रुखको छहारीमा बसिन्। आइतबार दिउँसो करिब १२:१५ बजे उनले खोलाको अर्को छेउबाट कसैले बोलाएको आवाज सुनिन्। उनीहरू उद्धार टोलीका सदस्य थिए, जसले उनलाई पानी र बिस्कुट दिए।
सरन्या हराएको खबर पाउनासाथ वन विभागले ७०/८० जनाको एक ठूलो उद्धार टोली परिचालन गरेको थियो, जसमा कर्नाटक पुलिसको नक्सल विरोधी दस्ता (एएनएफ) पनि सामेल थियो।
सरन्या भेटिनुभन्दा करिब दुई घण्टाअघि उनकी आमाले कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारलाई भेटेर छोरीको खोजीका लागि आग्रह गरेकी थिइन्।

आइतबार साँझ जब सरन्या चेकपोस्टमा पुगिन्, उनको परिवार, साथीभाइ र सहकर्मीहरू उनलाई लिन आतुर थिए।
‘मेरा आमाबुबा खुसी हुनुहुन्छ। बुबाले भन्नुभयो- म तिमीलाई रोक्न सक्दिनँ, तर खबरचाहिँ गरिरहनू’, बुवासँगको संवादबारे उनले भनिन्।
यो अनुभवबाट आफूले महत्त्वपूर्ण पाठ सिकेको उनी बताउँछिन्।
‘यदि समूहबाट छुटियो भने जथाभाबी अगाडि बढ्नुको साटो जुन बाटोबाट आइएको हो, त्यहीँ फर्कनुपर्छ भन्ने मैले सिकेँ’, उनले भनिन्।

घटनापछि वन विभागले ट्रेकिङ रुटमा स्पष्ट चिह्न र सुरक्षा नियमहरू लागू गर्ने निर्णय गरेको छ भने अबदेखि ट्रेकिङ समूहसँग स्थानीय आदिवासी समुदायका सदस्यहरूलाई गाइडका रूपमा पठाउने नयाँ व्यवस्था पनि गरिने भएको छ।
चैत २६, २०८२ बिहीबार १३:४३:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।