अमेरिका-इरान वार्ता पाकिस्तानमा : युद्धविराम उल्लंघनको आरोपबीच इरानी प्रतिनिधिमण्डल इस्लामावाद पुग्दै

अमेरिका-इरान वार्ता पाकिस्तानमा : युद्धविराम उल्लंघनको आरोपबीच इरानी प्रतिनिधिमण्डल इस्लामावाद पुग्दै
इरानी प्रतिनिधिमण्डल आज राति इस्लामाबाद आइपुग्नेछ (फाइल तस्बिर: रेजा अमीरी मुकाद्दम)

एजेन्सी :  अमेरिका र इरानबीच युद्धविरामबारे हुन लागेको महत्त्वपूर्ण वार्ताका लागि इरानी प्रतिनिधिमण्डल आज राति पाकिस्तानको राजधानी इस्लामावाद पुग्दैछ।

इजरायलले बारम्बार युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आए पनि पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफको निमन्त्रणामा इरानी टोली वार्ताका लागि आउन लागेको हो।

पाकिस्तानका लागि इरानी राजदूत रजा अमिरी मुकद्दमले सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत यसको पुष्टि गरेका छन्।

उनले लेखेका छन्, ‘इजरायली सरकारले बारम्बार युद्धविराम तोडेर कूटनीतिक प्रयासमा अवरोध पुर्यायो, जसले इरानी जनतामा शंका उत्पन्न गराएको छ। तर, यसका बाबजुद पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफको निमन्त्रणामा इरानी प्रतिनिधिमण्डल आज राति इस्लामावाद आइपुग्नेछ।’

राजदूत मुकद्दमले यो भ्रमण इरानको १० बुँदे प्रस्तावमा आधारित गम्भीर वार्ताका लागि भएको स्पष्ट पारेका छन्।

यो वार्ता यस्तो समयमा हुन लागेको हो, जब इरानका विदेशमन्त्री अब्बास अरागची र संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले युद्धविरामका सर्तहरू उल्लंघन भइसकेको आरोप लगाइसकेका छन्।

पाकिस्तानमा शनिबार हुने यस वार्तामा अमेरिकी पक्षको नेतृत्व उपराष्ट्रपति जेडी भेन्सले गर्नेछन्, जसले यस वार्ताको उच्चस्तरीय महत्त्वलाई दर्शाउँछ।

चैत २६, २०८२ बिहीबार १३:२४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।