केपी ‌ओली हाजिरी जमानीमा रिहा

केपी ‌ओली हाजिरी जमानीमा रिहा

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ।

सोमबार सर्वोच्च अदालतको आदेशपछि उनलाई बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंले हाजिरी जमानीमा रिहा गरेको परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।

‘उहाँ(ओली)लाई अहिलेको समयमा हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो’, उनले भने। उनको जिम्मा लिनका लागि पत्नी राधिका शाक्य अस्पताल पुगेकी थिइन्।

सर्वोच्च अदालतले विभिन्न पाँच कारण देखाउँदै उनलाई रिहा गर्न आदेश गरेको थियो। यद्यपि उनकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट भने अदालतले खारेज गरेको थियो।

सर्वोच्चले अनुसन्धानको प्रगति, उनीहरूको स्वास्थ्य अवस्था र किरियामा बसेको मानवीय संवेदनशीलता जस्ता पक्ष उल्लेख गर्दै थुना बाहिरै बसेर अनुसन्धानमा सहयोग गर्ने गरी तेस्रो पटक थपिएको म्याद सकिएपछि रिहा गर्न आदेश जारी गरेको थियो।

जेनजी आन्दोलन दमन गरेको र विद्यार्थीहरूमाथि गोली चल्दा पनि रोक्ने आदेश नदिएको भन्दै जेनजी आन्दोलन जाँचबुझ छानविन आयोगले हेलचेक्र्याइँ गरेको भन्दै उनीमाथि ज्यान मुद्दा चलेको थियो।

अनुसन्धानको क्रममा उसलाई थुनामै राखिरहनु आवश्यक नदेखिएमा वा अदालतको आदेशमा ‘हाजिरी जमानी’मा छाडिन्छ। यसमा सम्बन्धित व्यक्तिले ‘प्रहरी वा अदालतले बोलाएको बेला उपस्थित हुनेछु’ भनी लिखित कागज वा प्रतिवद्धता जनाउनुपर्छ।

चैत २६, २०८२ बिहीबार १२:०३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।