कलाकार संगमको हिजोका कुरा : हिरोइनको भन्दा कम क्रेज थिएन, तर राजेश हमालको आमा बनाइदिए
कलाकार संगम भण्डारी नेपाली कला क्षेत्रमा एक अपरिचित नाम होइन।
रेडियो नेपालको बाल नाटकबाट सुरू भएको उनको यात्रा टेलिभिजनको पर्दा हुँदै ठूलो पर्दासम्म फैलियो। तर, उनको यो यात्रा जति सफल देखिन्छ, त्यसको पछाडि उस्तै संघर्ष र पारिवारिक असहमतिको लामो कथा छ।
पाँच दशकको उमेर पार गर्दा पनि कलाप्रतिको उनको मोह घटेको छैन। हाल इटालीमा बसोबास गरे पनि फिल्मको अफर आउँदा उनी नेपाल आइपुग्छिन्।
हालै रेखा थापाको फिल्म ‘माया भनेको यस्तो होला’ मा काम गरिरहेकी उनै संगमले उकेराको नियमित कोलम ‘हिजोको कुरा’ मा आफ्नो अनुभव यसरी साटिन्:
छोरीलाई पढाउनु हुन्न भन्ने त्यो समाज
मेरो जन्म वि.सं. २०२८ सालमा काभ्रेको पनौती, खोपासीमा भयो। बुबा पञ्चायतकालमा जिल्ला सदस्य हुनुहुन्थ्यो। उहाँ अलि पढेलेखेको र समझदार भएकैले होला, हामी पाँच दिदीबहिनी र तीन दाजुभाइ, सबैलाई पढाउनुभयो।
मैले गाउँकै श्रीराम माविबाट एसएलसीसम्म पढेँ। प्लस टु भने नेपालमा लकडाउन भएका बेला पिङ्गलास्थानस्थित नेपाल फिल्म एकेडेमीबाट गरेँ।
त्यो बेला छोरीहरूलाई स्कुल पठाउने चलन कमै थियो। आर्थिक रूपमा सम्पन्न र अलि बुझ्ने परिवारले मात्र छोरी पढाउँथे, नत्र ‘अर्काको घर जाने जात’ भनेर घरकै काममा लगाइन्थ्यो।

कतिपय साथीहरूको महिनावारी हुनुअघि नै ‘कन्यादान’ दिइन्थ्यो। बिहेपछि पनि कति साथीहरू पढ्न आउँथे, तर अरूले ‘बिहे गरेर पनि पढ्न आई’ भनेर जिस्क्याउँदा लाजले स्कुल नै छाड्थे।
त्यो समय र अहिलेमा आकाश-पातालको फरक छ। त्यो बेलाको जिन्दगी एउटा जेलजस्तै थियो- बिहे नहुँदासम्म माइतीको अधीनमा, बिहेपछि श्रीमान् र सासुससुराको अधीनमा।
अहिले त आफ्नो इच्छाअनुसार पढ्न, काम गर्न र आफ्नो बाटो रोज्न पाइन्छ। मेरो बुबाले हामीलाई सम्पत्तिभन्दा ठूलो दाइजो शिक्षा दिनुभयो, जुन आजसम्म काम लागिरहेको छ।
बुबाले पाएको रेडियोले जगाएको कलाकार बन्ने भोक
बुबा जिल्ला पञ्चायत सदस्य भएकाले सरकारबाट एउटा ठूलो रेडियो उपहार पाउनुभएको थियो। बुबा समाचार सुन्नुहुन्थ्यो, हामीचाहिँ नाटक, गीत र फर्मायसी कार्यक्रम सुन्थ्यौँ।
रेडियोमा अरूको नाम र स्वर सुनेपछि मलाई पनि त्यस्तै बन्ने रहर जाग्यो। मेरो दिमागमा डाक्टर, इन्जिनियर बन्ने सपना कहिल्यै आएन, मात्र एउटै धुन थियो- एक दिन रेडियो नेपालभित्र छिर्ने, कलाकार बन्ने।
यही सपनाले डोर्याएर म एकदिन स्कुल ड्रेसमै काठमाडौं आएँ। तर, सिंहदरबारभित्र छिर्न पुलिसले दिएन। गाडी छिर्ने बेला ढोका खुल्दा लुकेर भित्र पस्ने प्रयास गर्थेँ। रेडियो नेपाल पुगेर त्यहाँका कर्मचारीलाई ‘मलाई कलाकार बनाइदिनुपर्यो’ भनेर जिद्दी गर्थेँ।

उहाँहरू मायाले सम्झाउनुहुन्थ्यो, ‘नानी, पहिले एसएलसी पास गर अनि आऊ।’ तर, मलाई भने खेल्न नदिएकोमा खुब रिस उठ्थ्यो। पछि मेरो करकरले दिक्क भएर होला, कहिलेकाहीँ बाल कार्यक्रमहरूमा सहभागी गराउन थाल्नुभयो।
सिरियलमा खेल्दा हिरोइनको भन्दा बढी क्रेज
रमेश बुढाथोकीको निर्देशनमा बनेको पहिलो टेलिभिजन सिरियल ‘निमित्त नायक’ बाट मेरो अभिनय यात्रा सुरू भयो। त्यसपछि ‘रूपमती’ लगायत कयौं सिरियलमा काम गरेँ। ‘हिजो आजका कुरा’ मा त झन्डै ५०० भाग अभिनय गरेँ।
त्यो बेला सिरियल खेल्दाको क्रेज अहिलेका हिरोइनको भन्दा कम थिएन। एउटा सिरियल खेल्दा संसारले चिन्थ्यो। तर, रमाइलो कुरा के थियो भने, वि.सं. ४२ सालतिर मैले सिरियल खेल्दा धेरैको घरमा टेलिभिजन नै हुँदैनथ्यो।
म आफैँले खेलेको सिरियल हेर्न बागबजारको गल्ली-गल्लीमा टिभी खोज्दै हिँड्थेँ। ५० घरमा सोध्दा २-४ घरमा मात्र टिभी हुन्थ्यो। पछि बिस्तारै घर-घरमा टिभी हुन थाल्यो र मान्छेले चिन्न थाले, तब अर्कै संसारमा पुगेजस्तो महसुस भयो।
त्यतिबेला पारिश्रमिकको चलन थिएन। सय जना निर्देशकमध्ये ४-५ जनाले मात्र केही पैसा दिन्थे, नत्र सित्तैमा काम गर्नुपर्थ्यो। कसैले खाजा खुवाउँथे, त्यत्ति हो।
पछि नेपाल टेलिभिजनका जीएम नीर शाह हुनुहुन्थ्यो। हामीले गुनासो गरेपछि उहाँले नै कलाकारलाई पारिश्रमिक दिने प्रणाली सुरू गर्नुभएको हो।
ठूलो पर्दा र पारिवारिक असन्तुष्टि
मैले खेलेको पहिलो ठूलो पर्दाको फिल्म ‘तिलहरी’ हो। यसमा गोपालराज मैनाली र भुवन केसीसँग मेरो एउटा रमाइलो कमेडी सिन थियो। त्यसपछि ‘लोभीपापी’, ‘गोपीकृष्ण’, ‘चट्याङ’, ‘भानुभक्त’ जस्ता अनगिन्ती फिल्ममा अभिनय गरेँ।
मेरो रहर हास्य कलाकार बन्ने थियो, तर धेरैजसो निर्देशकले मेरो अनुहार र बोली हेरेर कम उमेरमै राजेश हमाल, सरोज खनाल, अशोक शर्मा जस्ता कलाकारको आमाको भूमिका दिनुभयो।

मैले नाटक, फिल्म र सिरियल खेलेको कुरा मेरो बुबा र श्रीमान् बाहेक कसैले मन पराएनन्- न माइतीले, न घरका अरू सदस्यले, न त इष्टमित्रले नै। आजसम्म पनि उनीहरूले ‘तैँले राम्रो काम गरिस्’ भनेका छैनन्।
त्यो बेलाको समाजमा कलाकारिता र राजनीतिमा लाग्ने मान्छेलाई ‘बिग्रेका’ र ‘काम नलाग्ने’ भनिन्थ्यो। बाहिर मुखले ‘कस्तो राम्रो अभिनय’ भने पनि भित्री मनबाट इज्जत गर्दैनथे। मैले कसैको कुरा सुनिनँ, केवल आफ्नो सपना र इच्छालाई पछ्याएँ।
विज्ञापन र नृत्य: अभिनयभन्दा परको यात्रा
त्यो समयमा मैले अभिनय मात्र गरिनँ, विज्ञापन निर्माणमा पनि हात हालेँ। ‘रारा तयारी चाउचाउ’, ‘मिनमिन चाउचाउ’, प्रेसर कुकरदेखि स्याम्पु र मन्जनसम्मका सयभन्दा बढी विज्ञापन बनाएँ। कतिपयमा आफैँले अभिनय पनि गरेँ।
यसबाहेक, नेपालमा महिलाले डान्स स्टुडियो खोल्ने पहिलो व्यक्ति पनि मै हुँ। मैले बागबजारमा ‘संगम कला केन्द्र’ स्थापना गरेकी थिएँ, जहाँबाट सम्झना बुढाथोकी जस्ता धेरै कलाकारहरूले नृत्य सिके। मैले धेरै काम एक्लै गरेँ, धेरै त्याग गरेँ। काभ्रे जिल्लाबाट कलाकारितामा आउने सायद म पहिलो महिला थिएँ।
चैत २६, २०८२ बिहीबार ११:३४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।