‘बाः एक योद्धा’ को सेटमा झरना र सुहाना, पहिलो पटक आमा-छोरी एउटै फ्रेममा देखिदै

‘बाः एक योद्धा’ को सेटमा झरना र सुहाना, पहिलो पटक आमा-छोरी एउटै फ्रेममा देखिदै

काठमाडौं : नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री एवं निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै पर्दामा देखिने भएका छन्। संगीतकारको रूपमा स्थापित हरि लम्सालको डेब्यु निर्देशन रहने चलचित्र ‘बाः एक योद्धा’ मा यी चर्चित आमा–छोरीको मुख्य भूमिका रहनेछ।

विगत दुई सातादेखि काठमाडौंका विभिन्न स्थानमा फिल्मको छायांकन भइरहेको छ। गत चैत्र ९ गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै छायांकन सुरु गरिएको थियो। ‘आर्टिस्टिक इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भइरहेको फिल्मले नेपाली समाजको अत्यन्तै मार्मिक र यथार्थपरक कथालाई समेट्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ। 

एउटा बाबुले आफ्नो सन्तानको भविष्य उज्ज्वल बनाउनका लागि गर्ने अथक त्याग, जीवनभर झेल्ने चुनौती र संघर्षलाई फिल्ममा ‘योद्धा’को रूपमा चित्रण गरिएको छ। निर्माण टिमका अनुसार यो एक सामाजिक र भावनात्मक मनोरञ्जनात्मक सिनेमा हुनेछ।

नेपाली संगीत र गायन क्षेत्रमा स्थापित नाम हरि लम्सालले फिल्मको निर्देशन मात्र नभई कथा र पटकथा समेत आफैँले लेखेका हुन्। सांगीतिक क्षेत्रमा सफल लम्सालको निर्देशकीय क्षमता कस्तो रहनेछ भन्नेमा अहिले धेरैको चासो देखिएको छ।

यस फिल्मका निर्माता वसन्त लम्साल हुन्। गायक तथा सर्जक समेत रहेका लम्सालले यस अघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र 'कर्मा' निर्माण गरेका थिए।

शिवराम श्रेष्ठको सिनेमाटोग्राफी रहने फिल्मको मुख्य सहायक निर्देशकमा तारा नाथ न्यौपाने रहेका छन्। छायांकनको सम्पूर्ण कार्य सकिएपछि मात्र प्राविधिक पक्षको काम हेरेर फिल्मको प्रदर्शन मिति घोषणा गरिने निर्माण पक्षले जनाएको छ।

चैत २६, २०८२ बिहीबार ११:३६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।