बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध पूर्व-पश्चिम राजमार्ग पाँच घण्टापछि सुचारु

बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध पूर्व-पश्चिम राजमार्ग पाँच घण्टापछि सुचारु

रौतहट : गए रातिको भारी वर्षासँगै आएको बाढीले सर्लाहीको हरिवनस्थित चापिनी खोलाको डाइभर्सन बगाउँदा अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग बिहीबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ।

बिहीबार बिहान साढे ३ बजेदेखि रोकिएको यातायात बिहान साढे ८ बजेपछि सुचारु भएको हो।

पूर्व-पश्चिम राजमार्गलाई ६ लेनमा विस्तार गर्ने क्रममा हरिवनको तीन घरे र बासा टोलको बिचमा पर्ने चापिनी खोलामा नयाँ पुल निर्माण भइरहेको छ।

पूरानो पुल मर्मत र नयाँ पुल निर्माणका लागि सवारी साधन आवतजावत गर्न वैकल्पिक बाटोका रूपमा डाइभर्सन बनाइएको थियो।

तर, राति परेको मुसलधारे वर्षाका कारण खोलामा बहाव बढ्दा उक्त अस्थायी डाइभर्सन पूर्ण रूपमा बगाएपछि राजमार्ग ठप्प भएको थियो।

डाइभर्सन बगेपछि सयौँको सङ्ख्यामा सवारी साधन र यात्रुहरू बिच बाटोमै अलपत्र परेका थिए। तत्कालको समस्या समाधानका लागि इलाका प्रहरी कार्यालय हरि वन र सडक विभागको समन्वयमा पुरानै पुलको बाँकी रहेको भागमा माटो भरेर गाडी गुड्न मिल्ने बनाइएको छ।

इलाका प्रहरी कार्यालय हरि वनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीका अनुसार, अहिले सोही पुरानो पुलबाट एकतर्फी रूपमा सवारी साधनहरू सञ्चालनमा ल्याइएको छ। ‘लामो समय जाममा परेका गाडीलाई प्राथमिकताका साथ गन्तव्यतर्फ पठाउने काम भइरहेको छ,’ निरीक्षक अधिकारीले जानकारी दिए।

पुलको अवस्था र सडक विस्तारको काम जारी रहेकाले उक्त खण्डमा सवारी चलाउँदा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

बाढीले सडक संरचनामा क्षति पुर्याइरहने जोखिम कायमै रहेकाले मौसमको अवस्था हेरेर यात्रा गर्न र सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन पालना गर्न यात्रु तथा चालकलाई सूचित गरिएको छ।

चैत २६, २०८२ बिहीबार १०:२७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।