अमेरिका-इरान वार्ताअघि इस्लामावादमा दुई दिन बिदा, इरान नजिकै तैनाथ रहन सेनालाई ट्रम्पको निर्देशन
एजेन्सी : अमेरिका र इरानबीच पाकिस्तानको इस्लामावादमा उच्चस्तरीय वार्ताको तयारी भइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन्।
ट्रम्पले इरानले ‘वास्तविक सम्झौता’ पूर्ण रूपमा पालना नगरेसम्म अमेरिकी सेना इरान र त्यस वरपरका क्षेत्रमा तैनाथ रहने स्पष्ट पारेका हुन्।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै ट्रम्पले सम्झौता कार्यान्वयन नभए अभूतपूर्व सैन्य प्रतिकार गर्ने धम्की दिएका छन्।
उनले भनेका छन्, ‘यदि कुनै पनि कारणले सम्झौताको पालना भएन भने जुन हुने सम्भावना त निकै कम छ- त्यसपछि ‘युद्ध’ सुरु हुनेछ। त्यो युद्ध संसारले अहिलेसम्म नदेखेको जस्तो ठुलो र शक्तिशाली हुनेछ।’
यसैबीच, अमेरिका र इरानबीच हुन लागेको कूटनीतिक वार्तालाई ध्यानमा राख्दै पाकिस्तानले आफ्नो राजधानी इस्लामावादमा दुई दिन सार्वजनिक बिदा घोषणा गरेको छ। स्थानीय प्रशासनले बिहीबारदेखि लागू हुने गरी आकस्मिक रूपमा बिदाको निर्णय गरेको हो।
इस्लामावाद जिल्ला प्रशासनले जारी गरेको सूचनामा बिदाको स्पष्ट कारण नखुलाइए पनि उच्चस्तरीय कूटनीतिक भेटघाटका क्रममा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर यस्तो कदम चालिएको बुझिएको छ।
पाकिस्तानले यस्ता महत्त्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रमहरूका बेला अक्सर सार्वजनिक आवागमनमा प्रतिबन्ध लगाउने वा बिदा दिने गर्दछ।
यो वार्ताले लामो समयदेखि तनावपूर्ण रहेको अमेरिका-इरान सम्बन्धमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ, तर वार्ताको टेबलमा बस्नुअघि नै ट्रम्पको पछिल्लो चेतावनीले माहोललाई थप गम्भीर बनाएको छ।
चैत २६, २०८२ बिहीबार १०:२२:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।