अमेरिकाले युद्धविरामका तीन सर्तहरू उल्लंघन गरेको इरानको आरोप

अमेरिकाले युद्धविरामका तीन सर्तहरू उल्लंघन गरेको इरानको आरोप

तेहरान : इरानले अमेरिकासँग भएको १० बुँदे युद्धविराम प्रस्तावका तीनवटा महत्त्वपूर्ण सर्तहरू उल्लंघन भएको आरोप लगाएको छ।

इरानले लेबनानमा भइरहेका आक्रमण र आफ्नो हवाई क्षेत्रमा भएको घुसपैठलाई लिएर कडा आपत्ति जनाएको हो।

इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले आफ्नो पुरानै अविश्वसनीय चरित्र प्रदर्शन गरेको बताएका छन्।

उनले भनेका छन्, ‘औपचारिक वार्ता सुरु हुनुअघि नै १० बुँदे प्रस्तावका तीनवटा सर्त तोडिएका छन्। अमेरिकाले बारम्बार वाचा तोड्ने गरेको छ, अहिले फेरि त्यही शैली दोहोर्याएको छ।’

गालिबाफका अनुसार अमेरिकाले प्रस्तावका तीन बुँदाहरू उल्लंघन गरेको छ।

इरानका अनुसार लेबनानमा युद्धविराम गर्ने पहिलो सर्तको पालना गरिएको छैन। यसअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पनि लेबनानसहित सबै क्षेत्रमा तत्काल युद्धविराम हुनुपर्ने माग गरेका थिए, तर आक्रमण रोकिएको छैन।

इरानको फार्स प्रान्तस्थित लार सहरमा एउटा घुसपैठकारी ड्रोन प्रवेश गरेको र त्यसलाई इरानी सेनाले खसालेको छ। इरानले यसलाई आफ्नो हवाई सीमाको सम्मान गर्ने सर्तको ठाडो उल्लंघन भनेको छ।

यसका साथै प्रस्तावको छैटौं बुँदामा इरानको युरेनियम संवर्धन गर्ने अधिकारलाई स्वीकार गरिएको भए पनि अहिले त्यसलाई इन्कार गरिएको इरानको दाबी छ।

इरानी सभामुखले अमेरिकी राष्ट्रपतिले १० बुँदे प्रस्तावलाई वार्ताको आधार मान्ने बताए पनि व्यवहारमा भने त्यसको विपरीत काम भइरहेको आरोप लगाएका छन्।

चैत २६, २०८२ बिहीबार १०:००:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।