कूटनीतिक सम्बन्धमा नयाँ अभ्यासको सुरूवात, तर ‘ड्रेसकोड’मा नराम्रोसँग चुके बालेन

कूटनीतिक सम्बन्धमा नयाँ अभ्यासको सुरूवात, तर ‘ड्रेसकोड’मा नराम्रोसँग चुके बालेन

काठमाडौ‌ं : प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सिंहदरबारमा नेपालका लागि विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेट गरे। प्रायः प्रधानमन्त्री र मन्त्री पदमा नयाँ नियुक्तिसँगै व्यक्तिगत भेटघाटको क्रम सुरू हुन्थ्यो। उक्त परम्परालाई तोड्दै शाहले पहिलो पटक सामूहिक भेट गरेका हुन्।

कूटनीतिक सम्बन्धमा यसलाई नयाँ अभ्यासका रूपमा हेरिए पनि कूटनीतिक भेटघाटमा अपनाउनुपर्ने सामान्य सजगतामा भने उनी र उनको टिम गम्भीर देखिएनन्। त्यसले यति महत्त्वपूर्ण भेटलाई पनि ‘क्याजुअल’ भेटको स्तरमा झारिदियो। यसको कारण थियो- प्रधानमन्त्री शाहले चयन गरेको पोशाक। 

कूटनीतिमा हरेक सानो विवरणको पनि अर्थ हुन्छ। कहाँ बोलाइयो, कस्तो भाषा प्रयोग भयो र बसाइको व्यवस्थापन कसरी गरियो भन्ने मात्र होइन, कस्तो पोशाक लगाइएको छ भन्नेसम्मको अर्थ हुन्छ।

विश्वभर नै राष्ट्रप्रमुख वा सरकार प्रमुखहरूले विदेशी प्रतिनिधिहरूलाई भेट्दा कि त अन्तर्राष्ट्रिय औपचारिक सुट (सर्ट र टाईसहित) लगाउँछन्, कि आफ्नो देशको राष्ट्रिय पोशाक लगाउँछन्।

प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको भिडियो र तस्बिरमा सहभागी विभिन्न देशका राजदूतहरू औपचारिक पोशाकमा देखिन्छन्। तर, प्रधानमन्त्री शाह प्रायः देखिने कालो टिसर्ट र कोटमा देखिए। धन्न, उनले कोटको टाँक भने लगाएका थिए।

कूटनीतिक भेटघाट अनौपचारिक होइन, औपचारिक हुन्छ। जेनजी आन्दोलन र निर्वाचनको परिणामले शाहको शैली र स्वभावबारे आन्तरिक मात्र होइन, बाह्य रूपमा पनि उत्तिकै चासो देखिन्छ। प्रधानमन्त्री नियुक्त भएपछिको पहिलो भेट भएकाले नेपालको हकमा कूटनीतिक क्षेत्रमा उक्त भेट निकै महत्त्वपूर्ण थियो।

तर, ड्रेसकोडमा चुक्दा शाह र उनको टिमले यसलाई निकै हल्का र अपरिपक्व बनायो। किनकि, टिसर्ट र कोटलाई क्याजुअल पोशाक मानिन्छ। राज्यको कार्यकारी प्रमुखले अर्को देशको कूटनीतिक प्रतिनिधिलाई भेट्दा सम्मान भाव अनिवार्य हुन्छ। यसमा भेटघाटस्थल, शैली र बसाइसँगै पोसाकको पनि अर्थ हुन्छ। त्यसैले, यस्तो अवस्थामा औपचारिक पोशाकको प्रयोग गरिन्छ।

मन्त्रिपरिषद्को बैठकदेखि संसद्‌सम्ममा टिसर्ट र कोटमा देखिए पनि आफ्नै शपथलगायतका औपचारिक कार्यक्रममा प्रधानमन्त्री शाह कालो दौरा-सुरुवालमा देखिने गरेका छन्। तर, बुधबार उनी औपचारिक पोशाकमा देखिएनन्।

संदेश र संकेत
कुटनीतिमा टिसर्टजस्तो अनौपचारिक पोसाकको प्रयोग सामान्य होइन। यसले भेटघाटलाई पर्याप्त गम्भीरताका साथ नलिएको प्रस्ट देखायो। प्रधानमन्त्री शाह, प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले यति महत्त्वपूर्ण भेटघाटमा ड्रेसकोडलाई वास्ता नगरी यसलाई सामान्य अनौपचारिक भेटको स्तरमा झारिदिए।

यसले सीधै औपचारिक प्रोटोकलको बेवास्ता गरेको देखायो। राज्यको गरिमा र उच्च ओहोदाको अनुशासन कायम नगरेको प्रस्ट देखियो। कालो सुटमा टिसर्ट लगाउनु फेसनको हिसाबले आधुनिक देखिए पनि कूटनीतिक शिष्टाचारको कडा मापदण्डभित्र यसलाई गल्ती मानिन्छ।

यस्ता भेटघाटमा प्रधानमन्त्रीजस्तो ओहोदाको व्यक्तिले परम्परागत शिष्टाचार पालना गर्नु नै राष्ट्रिय छवि र मर्यादाका लागि उत्तम हुन्छ। तर, यसमा बुधबार बालेन र सरकारी संयन्त्र नराम्रोसँग चुके। राष्ट्रको अन्तर्राष्ट्रिय छवि बनाउनुपर्ने महत्त्वपूर्ण क्षण पनि ‘के गर्नुपर्छ?’ भन्नेमा होइन, ‘प्रधानमन्त्रीलाई के मनपर्छ’ भन्ने कुरामा मात्र केन्द्रित देखियो।

चैत २६, २०८२ बिहीबार ०९:३२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।