मध्यपूर्व द्वन्द्वको असरले एनएचआरसीको १२औं शिखर सम्मेलनमा विदेशी पाहुना घट्ने

मध्यपूर्व द्वन्द्वको असरले एनएचआरसीको १२औं शिखर सम्मेलनमा विदेशी पाहुना घट्ने

काठमाडौं : मध्यपूर्वका विभिन्न देशमा जारी अस्थिरता र द्वन्द्वको असर नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌ (एनएचआरसी) को १२औं शिखर सम्मेलनमा पर्ने भएको छ।

आगामी चैत २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुने सम्मेलनमा गत वर्षको तुलनामा यसपटक अन्तर्राष्ट्रिय सहभागीहरूको संख्या केही घट्ने परिषद्ले जनाएको छ।

यद्यपि, सम्मेलनमा बेलायत, अमेरिका, भारत, फिलिपिन्स, अस्ट्रेलिया, कोरिया र युरोपेली राष्ट्रका प्रतिनिधिसहित करिब १२ सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहनेछ।

परिषद्का अनुसार यस वर्षको सम्मेलनको मुख्य नारा ‘नेपालमा स्वास्थ्य अनुसन्धान सुशासनका लागि प्रमाणमा आधारित निर्णय तथा कार्यान्वयन प्रक्रिया’ तय गरिएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा परिषद्का सदस्यसचिव डा. प्रमोद जोशीले सम्मेलनको तयारी पूरा भएको जानकारी दिए।

उनका अनुसार सम्मेलनका लागि प्राप्त ४ सय ६५ वटा कार्यपत्रको सारमध्ये ९१ वटालाई मौखिक र १ सय २० वटालाई पोस्टर प्रस्तुतीकरणका लागि छनोट गरिएको छ।

नीति निर्माता, अनुसन्धानकर्ता, विश्वविद्यालय र स्वास्थ्य क्षेत्रका विज्ञबीच नवीनतम प्रमाण र अनुभव आदानप्रदान गर्दै जिम्मेवार अनुसन्धान संस्कृति प्रवर्द्धन गर्नु सम्मेलनको मुख्य लक्ष्य रहेको डा. जोशीले बताए।

तीन दिनसम्म चल्ने सम्मेलनमा मुख्य सत्र ‘स्वास्थ्य अनुसन्धान सुशासन’ मा केन्द्रित हुनेछ। यसका अलावा पाँचवटा विभिन्न समूहमा व्यापक छलफल गरिनेछ। जसमा नसर्ने रोग, प्रजनन तथा मातृ-शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, संक्रामक रोग, विपद् व्यवस्थापन र महामारीको तयारीलगायतका विषय समेटिनेछन्।

यसका साथै, स्वास्थ्य प्रविधि तथा एआई (कृत्रिम बौद्धिकता), जलवायु परिवर्तन, वातावरणीय तथा पेसागत स्वास्थ्य, स्वास्थ्य वित्त, आयुर्वेद तथा परम्परागत चिकित्सा र पोषणजस्ता समसामयिक विषयमा पनि विज्ञहरूले मन्थन गर्नेछन्।

राष्ट्रिय तथा विश्वव्यापी रूपमा देखिएका स्वास्थ्यका चुनौतीहरू समाधान गर्न अनुसन्धान, नीति र अभ्यासबीचको सम्बन्धलाई यस सम्मेलनले थप सुदृढ पार्ने विश्वास लिइएको छ।

सम्मेलनको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गर्ने कार्यक्रम छ। परिषद्ले आफ्नो स्थापना दिवसको अवसर पारेर सन् २०१५ देखि निरन्तर रूपमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको यो शिखर सम्मेलन आयोजना गर्दै आएको छ।

सम्मेलनको अवसरमा स्वास्थ्य अनुसन्धानको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउनेहरूलाई सम्मानसमेत गरिने परिषद्ले जनाएको छ।

चैत २५, २०८२ बुधबार २०:४०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।