हङकङमा रहेका देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, इन्टरपोलमार्फत ‘नोटिस’ जारी गर्ने तयारी

हङकङमा रहेका देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, इन्टरपोलमार्फत ‘नोटिस’ जारी गर्ने तयारी

काठमाडौं : सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान तानिएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतले मंगलबार देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरिरहेको अनुसन्धानका क्रममा बयानका लागि उपस्थित गराउन अदालतबाट पक्राउ पुर्जी लिइएको हो। हाल हङकङमा रहेका उनीहरूलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘नोटिस’ जारी गर्ने तयारी गरेको प्रहरी उच्च स्रोतले जानकारी दियो।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवाको बूढानीलकण्ठस्थित निवासमा आगजनी भएको थियो। उक्त घटनामा घरभित्र ठूलो मात्रामा नगद जलेको देखिएपछि विभागले चासो देखाएको थियो। विभागको टोलीले जलेको घरमा पुगेर डढेका नोटका टुक्रा र खरानी संकलन गरी अनुसन्धान अघि बढाएको थियो।

घटनाको ७ महिनापछि देउवाले उक्त जलेको घर भत्काउन खोज्दा प्रमाण नष्ट हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक लगाएको थियो। यसै प्रकरण र अन्य आर्थिक विषय जोडेर उनीहरूमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ।

अनुसन्धानकै बीच चुनावसमेत छाडेर देउवा फागुन १३ गते उपचारको कारण देखाउँदै सिंगापुर उडेका थिए भने आरजु भारत हुँदै सिंगापुर पुगेकी थिइन्। सिंगापुरबाट केही दिनमै उनीहरू हङकङ पुगेका हुन्। सिंगापुरमा रहँदा पक्राउ परेर नेपाल पठाइदिने उच्च जोखिम भएपछि देउवा दम्पत्ति हङकङ लागेका हुन्।

सिंगापुरमा ‘रेड कर्नर’ नोटिसलाई उच्च प्राथमिकतामा राखेर काम गर्छ भने हङकङमा यस्ता नोटिसहरू आए पनि त्यहाँको अदालतले फिर्ता पठाउन नभनेसम्म फिर्ता पठाउने हुँदैन। यदि आरोपीले आफूलाई नेपाल पठाउँदा ज्यानको खतरा छ वा राजनीतिक पूर्वाग्रह छ भनी दाबी गरेमा कानुनी प्रक्रिया लामो समयसम्म अल्झिन सक्ने हुन्छ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले देउवा दम्पतीमाथि अनुसन्धान गर्न विभागलाई निर्देशन दिएको थियो। चैत १३ गते बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि यस अनुसन्धानलाई झन् तीव्रता दिइएको हो।

चैत २५, २०८२ बुधबार १८:५९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।