विवाद छल्ने दाबीसहित फर्कियो ‘कमेडी दरबार’ : ज्ञानेन्द्रको अवतारमा मनोज, कार्यक्रम सकिएपछि आइपुगे ‘म्याकुरी’

विवाद छल्ने दाबीसहित फर्कियो ‘कमेडी दरबार’ : ज्ञानेन्द्रको अवतारमा मनोज, कार्यक्रम सकिएपछि आइपुगे ‘म्याकुरी’

काठमाडौं : अघिल्ला सिजनहरूमा कन्टेन्टभन्दा बढी विवाद र कानुनी झमेलाले चर्चामा रहेको टेलिभिजन रियालिटी शो ‘कमेडी दरबार’ आफ्नो तेस्रो सिजन लिएर आउँदैछ।

आगामी वैशाख ४ गतेदेखि प्राइम टेलिभिजनबाट प्रसारण हुने यो शोको बुधबार औपचारिक घोषणा गरियो। तर, घोषणा कार्यक्रम शोको जानकारीभन्दा पनि दुई वटा कारणले बढी गसिपको विषय बन्यो- मनोज गजुरेलको ‘ज्ञानेन्द्र’ अवतार र पवन खतिवडाको ‘लेट’ इन्ट्री!

कार्यक्रममा सबैको ध्यान ‘महाराजा’ अर्थात् मनोज गजुरेलले खिचे। कारण थियो- उनको गेटअप। शिरमा टलक्क टल्कने श्रीपेच लगाएर ठ्याक्कै पूर्वराजा ज्ञानेन्द्र शाहको 'लुक्स' र हाउभाउमा पुगेका उनले कार्यक्रममा खुबै हुटिङ खाए।

अघिल्लो सिजनमा व्यस्तताका कारण विजय बराल बाहिरिएपछि दरबार पसेका मनोज यसपटक पनि महाराजाकै कुर्सीमा बस्नेछन्।

तर, सार्वजनिक व्यक्तित्वको क्यारिकेचर गर्दा अक्सर राजनीतिक कार्यकर्ताको निशानामा परिने नेपाली ट्रेन्ड छ। पूर्वराजाकै शैली अपनाएका मनोजको यो अवतारले उनलाई दर्शकको ताली मात्रै दिलाउँछ कि राजावादीहरूको तारो पनि बनाउँछ? त्यो भने शो प्रसारण भएपछि नै थाहा होला।

कार्यक्रमको अर्को कानेखुसीको विषय बने, पवन खतिवडा। दरबारका अरु सबै कलाकार समयमै उपस्थित भएर मिडियासामु प्रस्तुत हुँदा पवन भने अत्तोपत्तो थिएनन्। रोचक त के भने, कार्यक्रम नै सकिएपछि मात्रै उनी सुटुक्क त्यहाँ आइपुगे। उनको यो लेट इन्ट्रीले त्यहाँ उपस्थितहरुबीच सानोतिनो गसिप नै जन्मायो।

यसपटक ‘दरबार’को समीकरण पनि फेरिएको छ। महारानी गौरी मल्ल त छँदैछिन्, दरबारमा अब ‘रानी’ बनेर भित्रिएकी छन् अभिनेत्री दीया मास्के।

उत्सव सापकोटा र हिमेश पन्त दरबारबाट बाहिरिएका छन् भने उनीहरूको ठाउँ लिन दिनेश सापकोटा, सन्तोष थापा र सुजन जिम्बा भित्रिएका छन्। सिडी विजय अधिकारी, विश्वास तिम्सिना (बीटी कान्छा), सुन्दर खनाल, पवित्रा साँकी (मिस पवी), सुजता श्रेष्ठ र विकास अर्यालले भने दरबारमै निरन्तरता पाएका छन्।

अघिल्लो सिजनमा अश्लील जोक र कन्टेन्टकै कारण निर्देशक विक्की अग्रवालले कानुनी झमेला नै खेप्नु परेको थियो। त्यो विवाद र आलोचनालाई यसपटक सुधार्ने निर्माण पक्षको दाबी छ।

विक्की र श्रद्धा प्रसाईंको निर्देशन रहने यो शोलाई यसपटक सजिना खनाल र विक्की आफैँले होस्ट गर्दैछन्। विकास अर्याल र सरोज भण्डारीको लेखन रहने यो सिजन अघिल्लो भन्दा भव्य र परिष्कृत हुने निर्देशक अग्रवालको बाचा छ।

हेरौं, नयाँ सेट र नयाँ अनुहारसहित आउन लागेको ‘कमेडी दरबार’ले यसपटक साँच्चै विशुद्ध हँसाउँछ कि फेरि नयाँ विवादको झमेलामा फस्छ!

चैत २५, २०८२ बुधबार १९:११:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।