भाउजुलाई राख्न दिएको ‘विदेशको कमाइ’बारे विवाद हुँदा भाइले दाइलाई चिर्पट हाने, पाँच दिनसम्म उपचारपछि मृत्यु

भाउजुलाई राख्न दिएको ‘विदेशको कमाइ’बारे विवाद हुँदा भाइले दाइलाई चिर्पट हाने, पाँच दिनसम्म उपचारपछि मृत्यु

नुवाकोट : घरायसी आर्थिक विवाद र सामान्य भनाभनका क्रममा आवेगमा आई चिर्पट प्रहार गर्दा आफ्नै दाजुको हत्या गरेको अभियोगमा नुवाकोटमा एक व्यक्तिविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय नुवाकोटले किस्पाङ गाउँपालिका वडा नं. ३, गुन्साका ५१ वर्षीय सेल बहादुर तामाङविरुद्ध आफ्नै सहोदर दाजु ५२ वर्षीय कामी तामाङको हत्या गरेको अभियोगमा जन्मकैदको मागदाबी गर्दै बुधबार (२०८२ चैत १८ गते) जिल्ला अदालत नुवाकोटमा अभियोगपत्र दर्ता गरेको हो।

जिल्ला न्यायाधिवक्ता प्रकाश थापाद्वारा हस्ताक्षरित अभियोगपत्र अनुसार मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ को उपदफा (१) र (२) बमोजिम प्रतिवादीलाई जन्मकैदको सजाय माग गरिएको छ।

साथै, मृतकको उपचारमा खर्च भएको चार लाख सन्तानब्बे हजार तीन सय सन्तानब्बे रुपैयाँ क्षतिपूर्ति स्वरुप प्रतिवादीबाट भराउन समेत मागदाबी लिइएको छ।

यसरी भएको थियो घटना
मृतककी श्रीमती ४७ वर्षीया जित माया तामाङले दिएको जाहेरी र प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार घटना गत २०८२ फागुन २३ गते बिहान ११:१५ बजेको हो।

कामी तामाङ आफ्नै घरको आँगनको दक्षिणतर्फ रहेको धारामा बोतलमा पानी भर्दै थिए। सोही समयमा पछाडिबाट आएका भाइ सेल बहादुरले एक्कासी काठको चिर्पटले दाजुको टाउकोमा प्रहार गरेका थिए। प्रहरीले घटनास्थलबाट प्रमाणका रूपमा काठको चिर्पट समेत बरामद गरेको छ।

चिर्पट प्रहारबाट गम्भीर घाइते भई आँगनको डिलबाट तल खसेका कामी तामाङलाई तत्काल उद्धार गरी नुवाकोटको त्रिशूली अस्पताल पुर्याइएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि सोही दिन थप उपचारका लागि काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। उपचारकै क्रममा ५ दिनपछि, फागुन २७ गते साँझ ५:५० बजे उनको मृत्यु भएको थियो।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको पोष्टमार्टम रिपोर्टले मृतकको मृत्युको कारण टाउकोमा लागेको गम्भीर चोट भएको पुष्टि गरेको छ।

हत्याको कारण: पुरानो रिसइवी र ‘लाटो’ भन्दै जिस्क्याउनु
सेल बहादुर तामाङले प्रहरी र सरकारी वकिलसमक्ष दिएको बयानमा दाजुको हत्या गरेको स्वीकार गरेका छन्। उनले घटनाको पछाडि पुरानो आर्थिक विवाद र तत्कालको आवेग मुख्य कारण रहेको खुलाएका छन्।

बयानका अनुसार, सेल बहादुरकी श्रीमतीले करिब ४ वर्ष वैदेशिक रोजगारीमा रहँदा कमाएको पैसा उनले दाजु र भाउजूलाई राख्न दिएका थिए। पछि श्रीमती नेपाल फर्किएपछि सोही रकमको विषयलाई लिएर दाजु-भाउजुसँग उनको बेला-बखत विवाद हुने गरेको थियो।

फागुन २३ गते बिहान सेल बहादुर घरको धारातर्फ जाँदा दाजु कामी तामाङले ‘कता जान लागेको?’ भन्दै बिनाकारण सोधखोज गरेको र ‘लाटो’ भन्दै गालीगलौज गरेको सेल बहादुरको दाबी छ।

दाजुले विभिन्न गालीगलौज गरेपछि रिसको आवेगमा आई आफूले नजिकै रहेको लाठोले टाउकोमा प्रहार गरी धकेलिदिएको र भागेको उनले बयानमा स्वीकार गरेका छन्।

प्रत्यक्षदर्शी र प्रमाण
घटनास्थल वरपर रहेका गाउँलेहरू प्रतिमाया तामाङ, बम बहादुर तामाङ र आईती तामाङले मौकामा गरिदिएको घटना विवरण कागजले पनि जाहेरीवालाको दाबीलाई पुष्टि गरेको अभियोगपत्रमा उल्लेख छ।

उनीहरूले पानी भर्दै गरेका कामी तामाङलाई भाइ सेल बहादुरले बिनाकारण पछाडिबाट चिर्पट प्रहार गरी लडाएको सुनेको र अचेत अवस्थामा अस्पताल लगिएको बताएका छन्।

सरकारी वकिल कार्यालयले घटनास्थल मुचुल्का, मृतकको पोष्टमार्टम रिपोर्ट, बरामद काठको लाठो, प्रतिवादीको साविती बयान र साक्षीहरूको भनाइलाई मुख्य सबुत प्रमाणका रूपमा अदालतमा पेश गरेको छ।

प्रतिवादी सेल बहादुर हाल प्रहरी हिरासतमा रहेका छन् भने अदालतमा थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार पठाउने वा धरौटीमा छाड्ने भन्ने आदेश हुनेछ।

चैत २५, २०८२ बुधबार १५:१९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।