१६ वर्षीया किशोरीलाई बन्धक बनाई बलात्कार, जेनजी आन्दोलनमा जलेको मिसिलको मुद्दा फेरि ब्यूँतियो
ललितपुर : १६ वर्षीया किशोरीलाई विवाहको प्रलोभन देखाई बन्धक बनाएर पटक-पटक बलात्कार गरेको अभियोगमा दोलखाका ३१ वर्षीय मीन बहादुर तामाङ (मिनसाङ्ग) विरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले तामाङविरुद्ध १० देखि १२ वर्षसम्मको कैद सजाय र ५ लाख रुपैयाँ जरिवाना माग गर्दै अभियोगपत्र दर्ता गरेको हो।
अभियोगपत्रका अनुसार ललितपुरमा होटल व्यवसाय गर्ने आमाकी माइली छोरी २०८० फागुन १९ गतेदेखि बेपत्ता भएकी थिइन्। चिनजानकै व्यक्ति रहेका तामाङले घुम्न जाने बहानामा किशोरीलाई आफ्नो मोटरसाइकलमा राखेर ललितपुरकै टिकाथलीस्थित डेरा कोठामा पुर्याएका थिए।
त्यहाँ उनले ‘विवाह गर्छु’ भनी विश्वास दिलाएर किशोरीलाई कोठाबाट बाहिर निस्किन नदिई बन्धक बनाएर राखेका थिए। पीडितका अनुसार उनलाई पटक-पटक डर-त्रास देखाई जबरजस्ती करणी गरिएको थियो।
अन्तिम पटक २०८१ वैशाख १ गते राति बलात्कार गरेपछि तामाङले ती किशोरीलाई काभ्रेको होक्से पुर्याएर छाडेका थिए। वैशाख १५ गते मात्र परिवारले उनलाई फेला पारेका थिए।
२०८२ भदौ २४ गते सातदोबाटो प्रहरी वृत्तमा भएको तोडफोड र आगजनीका क्रममा यसअघि नै दर्ता भई अनुसन्धान भइरहेको यो मुद्दाको सक्कल मिसिल कागजातहरू जलेर नष्ट भएका थिए। तर, प्रहरी र सरकारी वकिल कार्यालयले पुनः जाहेरी र आवश्यक प्रमाणहरू सङ्कलन गरी मुद्दाको फाइल फेरि खोलेको छ।
सरकारी वकिलले दायर गरेको अभियोगपत्रमा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (३) को खण्ड (घ) बमोजिम सजाय माग गरिएको छ। १६ वर्षदेखि १८ वर्षसम्मका महिलालाई बलात्कार गरेमा १० देखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ।
साथै, प्रतिवादीबाट पीडितलाई मनासिब क्षतिपूर्ति भराउन र ५ लाख रुपैयाँ जरिवाना गरी सो रकम पीडित राहत कोषमा जम्मा गराउन पनि माग गरिएको छ। हाल प्रतिवादी मीन बहादुर तामाङ फरार रहेका छन्। सरकारी वकिल कार्यालयले उनलाई पक्राउ गर्न अदालतबाटै पक्राउ पुर्जी जारी गर्न माग गरेको छ।
स्वास्थ्य परीक्षण प्रतिवेदनले पनि पीडितमाथि पुरानो चोट रहेको पुष्टि गरेको छ।
चैत २५, २०८२ बुधबार १४:२३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।