सुदूरपश्चिममा १० प्रतिशतले बढ्यो गरिबी, सबैभन्दा बढी अछाममा
कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा गरिबीको दर उल्लेख्य रूपमा बढेपछि प्रदेश सरकारले चिन्ता व्यक्त गरेको छ।
आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालु आर्थिक वर्षमा गरिबीको रेखा मुनि रहेको जनसंख्या १० प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ।
प्रदेश नीति तथा योजना आयोगले अहिले सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा पुगेर दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल गरिरहेको छ।
आव २०७७/७८ मा पहिलो पञ्चवर्षीय योजना बनाउँदा सुदूरपश्चिमको गरिबी २४.६ प्रतिशत रहेकामा बढेर ३४.१६ पुगेको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा निर्माणका विज्ञ सदस्य डा. हेमराज लामिछानेले बताए। अछाममा सबैभन्दा बढी गरिबी ४९.५८ प्रतिशत छ।
रोजगारी सृजना र सीप विकास, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच, कृषि र ग्रामीण अर्थतन्त्रको सुदृढीकरण, सामाजिक सुरक्षा र लक्षित कार्यक्रम र सुशासन र प्रभावकारी कार्यान्वयनलाई दोस्रो योजनाले जोड दिएको उनले बताए।
“यो योजनामा आत्मनिर्भर समुन्नत सुन्दर सुदूरपश्चिम दीर्घकालीन सोचका साथ योजना तयार पारिएको छ। उत्पादन र उत्पादकत्व वृद्धि गरी गरिबी निवारण, रोजगारी सृजना तथा आयस्तरमा सुधार गर्नु दोस्रो पञ्चवर्षीय योजनाको उद्देश्य छ”, विज्ञ सदस्य लामिछानेले भने, “गुणस्तरीय, सहज र दिगो पूर्वाधार विकास, स्वस्थ, सक्षम र सम्मानजनक जीवनयापन सुनिश्चित गर्ने उद्देश्य छ।”
प्रदेश सरकारले जलवायु अनुकूलन, जैविक विविधताको संरक्षण, संवर्द्धन र प्राकृतिक स्रोतको दिगो उपयोग, सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउनुका साथै विपद् जोखिम न्यूनीकरण र प्रविधिमैत्री प्रदेशको विकासलाई योजनामा समेटेको छ। कृषि, पशुपालन, साना उद्योग र पर्यटनको विकासबाट स्थानीयको आयस्तर सुधार गर्ने योजनालाई प्राथमिकतामा राखिएको छ।
चैत २५, २०८२ बुधबार १३:५६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।