बुटवलमा चितवनबाट ल्याइएको बोडीमा अत्यधिक विषादी, १२० केजी नष्ट

बुटवलमा चितवनबाट ल्याइएको बोडीमा अत्यधिक विषादी, १२० केजी नष्ट

बुटवल : कृषि उपज थोक बजार केन्द्र, बुटवलमा चितवनबाट ल्याइएको तने बोडीमा मानव स्वास्थ्यका लागि हानिकारक मात्रामा विषादी भेटिएको छ।

थोक बजार केन्द्रस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त बोडीमा ९७ दशमलव ०६७ प्रतिशत अर्गानोफस्फेट समूहको विषादी अवशेष फेला परेको हो।

परीक्षणबाट अत्यधिक विषादी भेटिएपछि बुटवल उपमहानगरपालिकाको टोलीले ल्याइएको १५० केजीमध्ये १२० केजी बोडी नष्ट गरेको जनाएको छ।

बाँकी ३० केजी भने पहिले नै बिक्री भइसकेको थियो। उपमहानगरपालिकाका अनुसार खरिदकर्ताको पहिचान गरी उक्त बोडी समेत नष्ट गर्न लगाइएको छ।

प्राविधिक मापदण्डअनुसार तरकारीमा अर्गानोफस्फेट समूहको विषादी ४५ प्रतिशतभन्दा बढी भएमा उपभोगका लागि अयोग्य मानिन्छ।

तर, परीक्षणमा त्यसको झण्डै दोब्बरभन्दा बढी मात्रा फेला परेपछि बोडी पूर्ण रूपमा असुरक्षित रहेको पुष्टि भएको हो।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई बुटवलका नायब प्राविधिक सहायक राजीव भण्डारीले परीक्षणका क्रममा बोडी खानै नमिल्ने अवस्थामा रहेको बताए।

चैत २५, २०८२ बुधबार १३:४७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।