‘एक्का तीन’मा पुष्प र पूजाको ‘पक्का’ जोडी
काठमाडौं : नेपाली रजतपटका चकलेटी नायक पुष्प खड्का र पूजा शर्माको जोडी फेरि एकपटक ठूलो पर्दामा देखिने पक्का भएको छ।
फिल्म ‘एक्का तीन’ का लागि निर्माण टिमले पुष्पसँग औपचारिक रूपमा कागजी सम्झौता गरेसँगै यो जोडीको सहकार्य सुनिश्चित भएको हो।
पूजा यसअघि नै यो प्रोजेक्टमा फाइनल भइसकेकी थिइन्। अब पुष्पको इन्ट्रीले फिल्मको ‘लाइनअप’ मात्र बलियो बनाएको छैन, दर्शकमाझ एक खालको कौतुहलता पनि थपिदिएको छ।
पुष्प र पूजाले यसअघि फिल्म ‘३६ को आँकडा’ मा स्क्रिन शेयर गरिसकेका छन् भने धेरै म्युजिक भिडियोमा उनीहरूको केमेस्ट्रीले दर्शकको मन जितिसकेको छ।
निर्देशक रुपेश तामाङका अनुसार फिल्मको प्रि-प्रोडक्सनको काम धमाधम भइरहेको छ। रोचक कुरा के छ भने, यो फिल्म पूर्ण रूपमा ‘एक्सन प्याक्ड’ हुने बताइएको छ।
सधैँ लभस्टोरीमा रुचाइने यो जोडीलाई एक्सन अवतारमा हेर्नु पक्कै पनि नयाँ अनुभव हुनेछ। पुष्पको भूमिकाबारे निर्माण टिमले अझै केही खुलाएको छैन, जसले गसिप बजारमा थप चर्चाको मसला दिएको छ।
फिल्ममा स्थापित कलाकार मात्र होइनन्, नयाँ अनुहारका लागि पनि ठाउँ छ। निर्देशक तामाङले एक-एक जना नव-नायक र नव-नायिकालाई फिल्ममा भित्र्याउने तयारी गरिरहेका छन्।
सुमन गजमेरको कथामा बन्न लागेको यो फिल्मलाई जुना फिल्मस् र अधिरा फिल्मस्ले मिलेर निर्माण गर्दैछन्। फिल्मको सुटिङ आउँदो जेठ महिनामा हुनेछ।
चैत २५, २०८२ बुधबार १३:२३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।