नेपाल टेलिकमको नयाँ सुविधा : व्यालेन्स नकाटिने गरी ‘पे एज यू गो’ बन्द गर्न सकिने, ३० दिने प्याक पनि सुरू

नेपाल टेलिकमको नयाँ सुविधा : व्यालेन्स नकाटिने गरी ‘पे एज यू गो’ बन्द गर्न सकिने, ३० दिने प्याक पनि सुरू

काठमाडौं : नेपाल टेलिकमले आफ्ना मोबाइल ग्राहकहरूका लागि डाटा प्रयोगमा नयाँ सुविधा र प्याकेज ल्याएको छ।

अब ग्राहकले डाटा प्याकेज सकिएपछि मुख्य ब्यालेन्सबाट पैसा काटिने प्रणाली (पे एज यू गो) लाई आफ्नो इच्छाअनुसार सक्रिय वा निष्क्रिय गर्न सक्नेछन्।

डाटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स नकाटियोस् भन्नका लागि ग्राहकले आफ्नो मोबाइलबाट *१४४# (प्रेस विज्ञप्तिमा ८४४४३ उल्लेख भए पनि यो कोड १४४ हो) डायल गरी ४ नम्बर छनोट गर्नुपर्नेछ।

त्यसपछि यो सुविधालाई सक्रिय बनाउन १ थिच्ने, निष्क्रिय बनाउन २ र अवस्था थाहा पाउन ३ थिच्नुपर्ने टेलिकमको विज्ञप्तिमा उल्लेख छ।

यदि यो सुविधा निष्क्रिय गरियो भने प्याकेज सकिएपछि स्वतः ब्यालेन्सबाट डाटा चल्ने छैन, जसले ग्राहकको पैसा बचत गर्न मद्दत गर्नेछ। यो सुविधा आगामी दिनमा नेपाल टेलिकमको एपबाट पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

ग्राहकको मागअनुसार टेलिकमले प्रिपेड मोबाइलमा २८ दिनको सट्टा ३० दिनको समयावधि भएको ‘प्रिपेड कम्बो २९९’ प्याक सञ्चालनमा ल्याएको छ।

रु. २९९ मा उपलब्ध हुने यस प्याकअन्तर्गत ग्राहकले सबै नेटवर्कमा ३०० मिनेटसम्मको कल, ४ जीबी डेटा र कम्पनीको नेटवर्कमा २० वटा एसएमएसकोसुविधाहरू पाउनेछन्।

यसका साथै, डाटा प्याकेजको भोल्युम खपतबारे जानकारी दिन पठाइने एसएमएस अब ९० प्रतिशत खपत भएपछि प्राप्त हुने व्यवस्था मिलाइएको छ।

सरकारको सुधारात्मक कार्ययोजनाअनुसार टेलिकमले यी सुविधाहरू थप गरेको प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिएका छन्।

चैत २५, २०८२ बुधबार १३:१२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।