भोलि देशैभर चट्याङ र असिनासहित वर्षा, घरबाहिर निस्कँदा सावधानी अपनाउन अनुरोध
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक-दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए। उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको तथा भोलिदेखि थप बढ्ने भएकाले मौसमको अवस्थाअनुसार सावधानी अपनाएर काम कारबाही गर्न अनुरोध गरे।
यसको असर पश्चिम नेपालमा बढी रहेको र ती क्षेत्रमा भने बिहानैबाट असर गर्ने बताए। उनका अनुसार दिउँसो त्यसको असर काठमाडौंमा पनि आइपुग्ने छ।
विभागले मंगलबार साँझ जारी गरेको बुलेटिनअनुसार बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने तथा बाँकी भू-भागमा साधारणतया बादल लाग्ने जनाइएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा, मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
यता गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको पनि मौसमविद् लामिछानेले बताए।
मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भू-भागमा केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको उनले बताए। बिहीबार पनि बदली कायम रहने छ।
चैत २४, २०८२ मंगलबार २२:१६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।