मधेस प्रदेशमा पक्राउ परे ३३ बिचौलिया

मधेस प्रदेशमा पक्राउ परे ३३ बिचौलिया

जनकपुरधाम : मधेस प्रदेशका सरकारी कार्यालयहरूमा सक्रिय रहेका ३३ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरू सर्वसाधारणलाई छिटो सेवा दिलाइदिने बहानामा अतिरिक्त रकम असुल्ने, गलत सूचना दिने तथा सेवा प्रवाहमा अनियमितता ल्याउने जस्ता कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मंगलबार जारी विज्ञप्तिमा पर्साको वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयबाट चार जना, मालपोत कार्यालयबाट तीन जना, रौतहटको गौरस्थित मालपोत कार्यालयबाट पाँच जना, चन्द्रपुर मालपोत कार्यालयबाट दुई जना, सर्लाहीको मलङ्गवा ट्रायल सेन्टरबाट दुई जना, मलङ्गवा मालपोत कार्यालयबाट नौ जना, धनुषाका विभिन्न सरकारी कार्यालयबाट चार जना र सप्तरीका विभिन्न कार्यालयबाट चार जना गरी कुल ३३ जनालाई नियन्त्रणमा लिइएको उल्लेख छ।

कार्यालयले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै अन्य संलग्न व्यक्तिहरूको खोजी तथा नियन्त्रण प्रक्रिया जारी राखेको जनाएको छ। आम नागरिकलाई सरकारी सेवा लिँदा कुनै पनि बिचौलियाको प्रलोभनमा नपर्न आग्रह गर्दै यस्ता गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा जानकारी गराउन अपिल गरेको छ।

कार्यालयले यस्ता गैरकानुनी कार्यमा संलग्न जो कोहीलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ। मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सहायक प्रवक्ता मानबहादुर राईले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए। 

चैत २४, २०८२ मंगलबार २२:०९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।