पर्दा पछाडि पनि अब नीताको राज, 'पार्वती'मा सुनिने भयो एक्सन-कट

पर्दा पछाडि पनि अब नीताको राज, 'पार्वती'मा सुनिने भयो एक्सन-कट

काठमाडौं : फिल्म ‘ह्रस्वदीर्घ’बाट निर्माणमा हात हालेकी अभिनेत्री नीता ढुङ्गाना अब निर्देशकका रूपमा पनि देखिने भएकी छन्।

अभिनय र निर्माणपछि उनी फिल्म ‘पार्वती’मार्फत निर्देशनमा डेब्यु गर्न लागेकी हुन्। मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित मिर्सा गाउँमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको छ।

‘नीता ढुङ्गाना फिल्मस्’को ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा नीता स्वयंको मुख्य भूमिका रहनेछ। यसअघि भिडियो ‘मन विनाको धन’मा सँगै काम गरेका बाल गायक अशोक दर्जीलाई लिएर नीताले फिल्म निर्माण थालेकी छन्।

अशोकको यो दोस्रो फिल्म हो। फिल्ममा नीता र अशोकका अलावा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेल लगायतका कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ।

फिल्मको निर्मातामा हरिहर अधिकारी र कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन्। सुदीप बरालको छायांकन रहने यस फिल्ममा ‘कार्टुन क्रु’का चर्चित डान्सर तथा निर्देशक सरोज अधिकारी ‘क्रियटिभ निर्देशक’का रूपमा जोडिएका छन्। म्युजिक भिडियो निर्देशनमा सफल सरोजले पहिलो पटक फिल्ममा क्रियटिभ निर्देशकको जिम्मेवारी सम्हाल्न लागेका हुन्।

निर्देशक नीता ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। साहिल खानले सम्पादन गर्ने यो फिल्म आगामी भदौ १२ गते देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने जानकारी दिइएको छ।

सोही मितिमा संगीतकार अर्जुन पोखरेलको लगानीमा निर्माण भइरहेको फिल्म ‘बेहुली’ पनि प्रदर्शन हुने घोषणा भइसकेको छ। अन्य कुनै फिल्म थप नभए भदौ १२ मा यी दुई फिल्मबीच प्रतिस्पर्धा हुने निश्चित देखिएको छ। 

चैत २४, २०८२ मंगलबार २१:४८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।