सम्भावित नयाँ रोगको सामना गर्न सरकारको एकीकृत रणनीति
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको सामना गर्न सरकार एकीकृत रूपमा अगाडि बढिरहेको बताएकी छन्।
विश्व स्वास्थ्य दिवसका अवसरमा मंगलबार भिडियो सन्देश जारी गर्दै उनले सरकार जलवायु परिवर्तनका चुनौती र नयाँ-नयाँ रोगहरूको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेको बताएकी हुन्।
मन्त्री मेहताले मानिस र पशुपन्छीको स्वास्थ्य वातावरणसँग अभिन्न रूपमा जोडिएको उल्लेख गर्दै प्रकृति सुरक्षित र पशुपन्छी स्वस्थ नरहेसम्म मानिस पनि पूर्ण रूपमा स्वस्थ रहन नसक्ने बताइन्। उनले सबै प्राणी जगत् र पर्यावरणको रक्षा गर्नु नै स्वास्थ्यको वास्तविक मर्म रहेको उल्लेख गरिन्।
“सरकारले राष्ट्रिय एक स्वास्थ्य रणनीतिमार्फत स्वास्थ्य, पशु र वातावरण क्षेत्रबीचको सहकार्यलाई स्थानीय तहसम्म सुदृढ बनाउँदै लगेको छ,” मन्त्री मेहताले भनिन्, “त्यसैले यो सबै कुरालाई मध्यनजर गरी सरसफाइलाई दैनिक जीवनको अभिन्न अङ्ग बनाऔँ, स्वास्थ्यकर जीवनशैली अपनाउन लागौं।”
उनले विज्ञानमा विश्वास गर्न, खोप लगाउन र नियमित स्वास्थ्य जाँच गराउन तथा चिकित्सकको सल्लाहअनुसार मात्र औषधिको प्रयोग गर्न पनि सबैमा आग्रह गरिन्। मंगलबार विश्व स्वास्थ्य दिवस ‘मानव, पशुपन्छी र पर्यावरणको हित; विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ भन्ने नाराका साथ मनाइएको छ।
चैत २४, २०८२ मंगलबार २१:१४:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।